११ मंसिर २०८३, शुक्रबार

प्रदेश प्रमुख हटाउने निर्णय पूर्वाग्रही: कांग्रेस

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारको निर्णय पूर्वाग्रही भएको बताएको छ ।

सरकारले प्रदेश प्रमुख हटाउने पूर्वाग्रही निर्णय गरेर प्रतिपक्षसँगको दूरी बढाउने काम गरेको र आफैं द्वन्द्व बढाउने बाटो बनाएको कांग्रेसले ठहर गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णयमा हस्ताक्षर गरेकी थिइन् ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले सरकारले संविधान विपरीत, निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै पूर्वाग्रही ढंगबाट प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको बताए ।

‘सरकारले संविधानविपरीत, निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै पूर्वाग्रही ढंगबाट प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको छ, कांग्रेस यसको विरोध गर्दछ,’ उपसभापति निधिले भने ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ३ माघ २०७४ को मन्त्रिपरिषद् बैठक मार्फत सातै प्रदेशमा प्रदेश प्रमुखहरू नियुक्त गरेको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार मुख्य रुपमा गर्नु पर्ने जरुरी काम छाडेर प्रतिपक्षसँगको दुरीलाई बढाउँदै द्वन्द्व निम्त्याउन पूर्वाग्रही ढंगबाट अघि बढेको र सो निर्णय त्यसैको परिणाम स्वरुप आएको बताए ।

‘सरकार मुख्य रुपमा गर्नु पर्ने जरुरी काम छाडेर प्रतिपक्षसँगको दुरीलाई बढाउँदै द्वन्द्व निम्त्याउन पूर्वाग्रही ढंगबाट अघि बढेको छ, प्रदेश प्रमुख हटाउने सरकारको निर्णय त्यसैको परिणाम हो’, प्रवक्ता शर्माले भने ।

शर्माले अघिल्लो सरकारका निर्णयहरु उल्टाएर सरकारले राजनीतिक द्वन्द्व बढाउन लागेको र केही कार्यकर्तालाई जागिर खुवाउने लोभमा आफ्नो असफताको खाडल खल्नेतिर आफैं अग्रसर भएको समेत दाबी गरे ।

कांग्रेसले १४ मंसिरमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेको अवस्थामा प्रदेश प्रमुखहरु हटाउने र नियुक्त गर्नु आचारसंहिताको घोर उल्लंघन भएको समेत बताएको छ ।