
भैरहवा, १७ कात्तिक । भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सका विद्यार्थी डर र त्रासकाबीच आन्दोलनमा उत्रिएका छन् । क्याम्पस प्रशासनले आन्दोलनमा गएको थाहा पाए कारवाही गर्ने डरले अनुहारमा माक्स लगाएर भैरहवाको बजारमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
क्याम्पसका विद्यार्थीका अनुसार क्याम्पस प्रशासनले आन्दोलनमा गएको थाहा पाए कडा कारवाही गर्ने समेत चेतावनी दिएको बताए । आन्दोलनमा उत्रिएका विद्यार्थी क्याम्पसको डरका कारण नाम पनि बताउन चाहँदैनन् ।
विगत केही दिनदेखि युनिभर्सल कलेज अफ मेडिकलसाइन्सले अवैधानिक रूपमा लिएको पैसा फिर्ता माग्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।
बिडिएस र एमबिबिएस पढ्ने प्रथम वर्षका विद्यार्थीहरु चार दिनदेखि कलेजको मुख्य गेटमा धर्नामा बसेकोमा आइतबार भैरहवाको मुख्य बजार क्षेत्र परिक्रमा गरि विरोध प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले विद्यार्थीमाथिको दमन बन्द गर्नुपर्ने, लिइएको अतिरिक्त शूल्क फिर्ता गर्नुपर्ने, त्रिविकोपरीक्षा फर्म शुल्क कायम गर्नुपर्ने, सम्पुर्ण विद्यार्थीलाई वार्षिक परिक्षामा समावेश गराउनु पर्ने र स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने लगायतका माग राखेका छन् ।
सरकारले बिडिएसका लागि १९ लाख ३२ हजार र एमबिबिएसका लागि ४२ लाख ४५ हजार मूल्य निर्धारण गरेको छ । तर मेडिकल कलेजले त्यस बाहेक अतिरिक्त रकम उठाउँदै आएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको मेडिकल कलेजले विश्वविद्यालयले निर्धारण गरेकै मूल्यलिएको दावी गर्छ । विद्यार्थीहरुलाई इनटर्नशिप गराउँदा लाग्ने खर्चका लागि कलेजले अतिरिक्त रकम उठाउने गरेको मेडिकल प्रशासनले जनाएको छ ।
गण्डकी मेडिकलकलेज र चितवन मेडिकल कलेजमा समेत अतिरिक्त रकम फिर्ता माग्दै तीन महिना देखि विद्यार्थी आन्दोलनमा छन् । आन्दोलनका कारण पोखरा र चितवनका विद्यार्थीहरुले वार्षिक परिक्षा फर्म भर्न पाएनन् ।
कात्तिक २० गतेदेखि त्रिभुवन विश्वविद्यालयले वार्षिक परिक्षा लिँदै छ । फर्म भर्न छुटेकालाई समेत परिक्षामा सहभागी गराउनुपर्ने माग विद्यार्थीहरुले गरेका छन् ।













प्रतिक्रिया