
-प्रतिक पौडेल
भैरहवा, १६ कात्तिक । शुद्धता, सद्भाव र आस्थाको पर्व छठ शनिबार श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइएको छ । छठ पर्व भैरहवाको विभिन्न छठ पोखरीहरूमा भव्य रूपमा छठ पुजा गरी मनाइएको हो ।

भैरहवाको श्री काली भक्ति गण (ई) सिद्धार्थनगर–५ सेवापथ र श्री राम जानकी हनुमान मन्दिर सिद्धार्थनगर–४ उद्योगपुरीमा रहेको छठ पोखरीमा छठ पर्वको तेस्रो दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइएको हो ।

छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
छठको मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइएको छ भने आइतवार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुनेछ ।

भैरहवामा विशेष गरी मधेशी र पहाडीहरुको मिश्रित बसोबास रहेकाले पहाडी समुदायमा पनि यो पर्वको रौनक बढ्न थालेको छ ।

भैरहवाको श्री काली भक्ति गण (ई) सिद्धार्थनगर–५ सेवापथमा रहेको छठ पोखरीमा हजारौ दर्शालुहरुको भिड लागेको छ । पोखरीमा करिव २० हजार दर्शालुले छठ पुजा गरेको जानकारी श्री छठपूजन समिति सिद्धार्थनगरका संयोजक आनन्द प्रसाद गुप्ताले दिए ।

यस्तै भैरहवाको श्री राम जानकी हनुमान मन्दिर सिद्धार्थनगर–४ उद्योगपुरीमा रहेको छठ पोखरीमा पनि दर्शालुहरु भिड लागेको छ ।

श्री काली भक्ति गणमा विगत ५० वर्ष पहिलादेखि छठ पूजन हुँदै आएको छ । त्यस्तै श्री राम जानकी हनुमान मन्दिरमा विगत ३ वर्ष देखि छठ पूजन हुँदै आएको छ ।















प्रतिक्रिया