
बागलुङ, १५ कात्तिक । बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १८ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले गर्नु गरेका थिए ।
सो अवसरमा बोल्दै जिसीले उत्पादनको क्षेत्रमा दुग्ध सहकारी संघले गरेको कामलाई थप प्रभावकारी बनाउनका लागि राज्यका निकायहरुले सहयोग गर्नु पर्नेमा जोड दिए ।
उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा संघले उत्कृष्ट काम गरेको र संघले प्रशोधन गरेका दुग्धजन्य पदार्थलाई देश तथा विदेशमा विक्री वितरण गर्ने योजनाका साथ अगाडि बढ्न उनले सुझाव दिए ।
जिल्लालाई दुधमा आत्मनिर्भर बनाउनतर्फ अग्रसर दुग्ध सहकारीहरुलाई राज्यले सहयोग गर्नु पर्नेमा जोड दिँदै उनले उत्पादन बिना सुखी नेपाली समृद्ध नेपाल बन्दैन भन्ने कुरा राज्य सञ्चालकहरुले बुझ्न पर्ने बताए ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष तथा काठेखोला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष युक्त प्रसाद कंडेलले धेरै दुख कष्टका साथ संघले बागलुङवासाीलाई दुध तथा दुग्धजन्य पदार्थ विक्री वितरण गर्ने कार्यलाई निरन्तरता दिएको बताए ।
उनले राज्यका निकायहरुको सहयोग रहने हो भने उत्पादन बढाउन तथा दुध र दुग्धजन्य पदार्थ देशका अन्य बजार र विदेशमा समेत पठाउन सकिने बताए ।
साधारणसभाले संघका सचिव रामबहादुर हमालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष डिलाराम कडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक कमलप्रसाद शर्माले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
साधारणसभा संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष ओमनाथ सापकोटाको स्वागत र सचिव रामबहादुर हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।
संघले गत आर्थिक वर्षमा संघमा आवद्ध १३ वटा दुग्ध सहकारी संस्थामा शेयर सदस्यहरुबाट संकलित ६ लाख ३४ हजार ७२ लिटर दुध विक्री वितरण गरेको छ ।
संघले दुध विक्रीका साथै दुध प्रशोधन गरी दही, घ्यू, पनिर, छुर्पी, आइसक्रिम, खुवा, नौनी, लस्सी लगायत उत्पादनहरु विक्री वितरण गर्दै आइरहेको छ ।
गत आर्थिक वर्षमा संघले दुध तथा दुग्ध जन्य पदार्थको विक्री वितरणबाट ५ करोड ६३ लाख ३८ हजार ३ सय २ रुपैया आम्दानी गरेको छ ।
संघले १३ वटा संस्थालाई फ्लो सिजनमा दुध विक्री गरेकोमा २ करोड ५५ लाख ३१ हजार ७० रुपैया र ड्राई सिजनमा १ करोड ९ लाख २७ हजार ३ सय १२ रुपैया गरी ३ करोड ६४ लाख ५८ हजार ३ सय ८२ रुपैया सदस्य सस्थाहरु मार्फत दुग्ध उत्पादक शेयर सदस्यहरुलाई प्रदान गरेको छ ।
साधारणसभाले दीपक गौतमको अध्यक्षतामा ९ सदस्य सञ्चालक समिति र कमल प्रसाद शर्मा संयोजक रहेको ३ सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा ओमनाथ सापकोटा, सचिव रामबहादुर हमाल, सहसचिव गोविन्द बहादुर खड्का, कोषाध्यक्ष डिलाराम कंडेल तथा सदस्यहरुमा युक्तप्रसाद कंडेल, नारायणप्रसाद गैरे, गोविन्दप्रसाद सापकोटा र केशव प्रसाद कंडेल रहेका छन् ।
यस्तै लेखा समितिका सदस्यहरुमा गुणराज कंडेल र बालकृष्ण सापकोटा रहेका छन् ।













प्रतिक्रिया