
काठमाडौँ, १३ कात्तिक । विभिन्न स्थानमा आगलागीमा परेर ३ जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका १३ टंकेश्वर डेरा गरी बस्ने सिन्धुपाल्चोक सानोसिरुवारी नगरपालिका घर भएकी ७८ वर्षीया धनमाया श्रेष्ठको आगलागीमा परी मंगलबार राति मृत्यु भएको छ ।
चुरोट सल्काउने क्रममा पर्दामा आगो सल्कन गई आगलागी हुँदा जलेर गम्भीर घाइते भएकी उनको शहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दैलेखको नौमुले गाउँपालिका ६ गोगनपानी बस्ने प्रेम बहादुर थापाको घरमा दीपावलीको लागि मैनबत्ती बाल्ने क्रममा मंगलबार राति आगलागी हुँदा उक्त आगोमा जलेर सोही नगरपालिका १ बस्ने गणेश बहादुर थापाकी ४ वर्षीया छोरी ईश्वरी थापाको मृत्यु भएको छ । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
मोरङको केराबारी गाउँपालिका १ सेल्डिङ बस्ने ४९ वर्षीया हस्तमाया मगरको घरमा मंगलबार राति आगलागी हुँदा सोही आगलागीमा जलेर उनको मृत्यु भएको छ । आगलागीबाट घर, घरभित्रका सम्पूर्ण सरसामान जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
घटनाको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया