काठमाडौं, ११ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभागको संख्या २८ बाट बढाएर ४५ वटा पुर्याउने प्रस्ताव गरेका छन् ।
महाधिवेशनको संघारमा विभाग बढाउने प्रस्तावलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला पक्षले अस्वीकार गरेको छ ।
देउवाले १७ वटा विभाग थप्न प्रस्ताव गरेपछि पौडेल समूह रुष्ट बनेको हो । महाधिवेशनलाई केन्द्रित गरी सभापति देउवाले आफ्ना पक्षका नेताहरूलाई व्यवस्थापन गर्न यस्तो प्रस्ताव ल्याएको भन्दै विरोधी समूहले जनाएको छ ।
देउवा निवास बूढानीलकण्ठमै बसेको पदाधिकारी बैठकमा एक प्रतिनिधिसभा र तीन प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि पार्टीले तोक्ने उम्मेदवारका विषयमा छलफल भएको थियो ।
उम्मेदवार तय गर्ने आधिकारिक निकाय संसदीय समिति हो । एक वर्षअघि विघटन भएको समिति पुनः गठन नभएका कारण केन्द्रीय कार्यसमितिबाट पदाधिकारीमा अधिकार प्रत्यायोजित गरेर उम्मेदवार तय गर्ने निधो भएको थियो ।
त्यहीअनुसार निर्णय गर्न केन्द्रीय बैठक बोलाइएको थियो । एकाएक विभाग बढाउने प्रस्ताव आएपछि बैठक बस्नै सकेन ।
गत पुसको महासमिति बैठकबाट पारित नयाँ विधानले केन्द्रीय विभाग २८ वटा हुने व्यवस्था गरेको छ । तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको कार्यकालमा विभाग थपेर ४२ वटा पुर्याइएको थियो ।
विभाग बढी भएको भन्दै आलोचना भएपछि विधान संशोधनका बेला २८ वटामा सीमित गरियो । विधान संशोधन भएको दस महिनामै विभाग बढाउने प्रस्ताव सभापति देउवाले गरेका हुन् ।
केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानबाहेक देउवाले कार्यकाल सकिने बेलासम्म एउटा पनि केन्द्रीय विभाग गठन गरेका छैनन् ।
तत्कालीन विधानले दुई महिना र नयाँ विधानअनुसार पनि ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने व्यवस्था छ । देउवाको चार वर्षको कार्यकाल आगामी फागुन मसान्तबाट सकिँदै छ ।
२८ विभागमा ११ विभाग संस्थापन विरोधीलाई दिने तयारी देउवाको छ । संख्या कम हुँदा आफ्नो पक्षका केन्द्रीय सदस्यको व्यवस्थापनमा कठिनाइ भएपछि उनी संख्या बढाउनतिर लागेका हुन् ।
विभाग बनाउने अधिकार सभापतिको भए पनि संख्या थप्ने प्रस्तावलाई भने केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने हुन्छ ।
बिहीबार यही विषयले केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेपछि १४ गते अर्को बैठक बोलाइएको छ ।











प्रतिक्रिया