
काठमाडौं, ९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी मोरङले शुक्रबार गरेको चियापान कार्यक्रममा क्रममा अध्यक्ष पुष्पकमल दाहालले भाषणका दौरान ‘म पनि ओरिजिनल माओवादी होइन’ भनेको ठट्टाको पृष्ठभूमी लुकाइएको छ ।
राजनीतिक संघर्षका बेला तत्कालिन माले महासचिव मदन भण्डारीसँगको प्रसङ्ग कोट्याउँदै कार्यकर्तालाई आश्वस्त पार्न प्रचण्डले त्यसो भनेका थिए । मसाललगायतका कतिपय राजनीतिक पार्टीमा रहँदा आफू माओवादी नभएको अवस्थितिलाई चित्रण गर्दै प्रचण्डले त्यस्तो मजाक गरेको बताइएको छ ।
तर त्यसपछिको कम्युनिस्ट राजनीतिमा भने माओको विचारलाई अगाडि सार्दै तत्कालिन नेकपा माओवादीको आन्दोलन सुरु गरेको वृतान्त पनि बताएका थिए । तर मिडियामा कभरेज भएका हेडलाइनलाई आधार बनाएर आफ्नै कार्यकर्ता र नेताले प्रचण्डको भनाई ट्रोल बनाए ।
खासगरी नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटाले नै उक्त विषयमा प्रचण्डको आलोचना गर्दै ट्रोल बनाएका थिए । केही समयमा नै सामाजिक सञ्जालबाट उनले उक्त भनाईलाई हटाएका थिए ।
उनले लेखेका थिए,‘अध्यक्ष प्रचण्ड के हामीले तपाईलाई ओरिजिनल माओवादी ठानेर गल्ती गरेका हौं त ?’ एकै छिनमा उनको यो स्ट्याटसमा धेरै कमेन्ट र बहस सुरु भइसकेको थियो ।
प्रचण्डको पुरा भाषण र त्यसको पृष्ठभूमी भने त्यस्तो नरहेको कार्यक्रममा सहभागी भएका संघकै सुनसरी, मोरङका कार्यकर्ताले सामाजिक सञ्जालमा लेखेका छन् ।
त्यस मध्येका एक सचिन नेपालले सामाजिक सञ्जालमा भनेका छन्,‘आज मोरङ जिल्ला कमिटीद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई श्रद्धेय अध्यक्ष कामरेड प्रचण्डद्वारा सम्बोधन गर्ने क्रममा एक प्रसंगमा स्वर्गीय मदन भण्डारी सुरुमा माले नभएको र आफू पनि सुरुका दिनमा माओवादी नभएको तर कालान्तरमा मदन भण्डारी र आफू दुवैले आफ्ना धारको नेतृत्व गरी अघि बढेको भनी व्यक्त विचारलाई केवल माओवादी होइन भनेको अर्थको अनर्थ लाग्नेगरी आएको कुरा पूर्ण यथार्थ छैन ।’
यतिमात्र होइन मिडियामा आएका अपूर्ण भाषणप्रति स्वयं प्रचण्डको सचिवालय पनि रुष्ट जस्तो देखिएको छ । सचिवालयमा रहेकी गंगा दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्,‘कम्युनिस्ट आन्दोलनमा एउटा इतिहास बनाइसकेको अध्यक्षलाई मिडियाले चिनाइदिनुपर्ने ? यो कस्तो बिडम्बना ।’
प्रचण्डको वैचारिक इतिहास
एकातिर ठट्टाका विषयमा बहस भए पनि प्रचण्डको राजनीतिक इतिहास भने संघर्षपूर्ण सँगै विचार स्थापनाको खास प्रारूपको कालखण्डमा बुझिन्छ ।
नेपालमा रहेको तत्कालिन कम्युनिस्ट नेकपा एमालेभन्दा ठूलो शक्ति बनाउनका लागि १० बर्षसम्म माओवादी विचारधारालाई प्रचण्डले नेतृत्व गरेका थिए, भूमिगत रुपमा ।
माओवादलाई नयाँ प्रारूपमा ढाल्दै प्रचण्डपथसम्मको नयाँ विचार संश्लेषण गरी कार्यान्वयन गरेका प्रचण्डले शान्ति प्रक्रिया सुरु भएपछि युद्ध अन्त्यका लागि आन्तरिक र बाह्य रुपमा प्रचण्डपथ हटाउन राजी भएका थिए ।
०६२ पछिका राजनीतिक घटनाक्रम र उतारचढाव छिचोल्दै माओवादी केन्द्रसम्म बनाएका उनले उक्त विचारलाई कम्युनिस्ट एकाता गरी ठूलो परिमाणमा भित्राएका छन्, त्यसैले पनि उनी एकीकृत कम्युनिस्ट पार्टीका अध्यक्षमा छन् ।
पछिल्लो पटक भने जनताको बहुदलीय जनवाद र जनताको जनवाद एउटै भएको बताएका प्रचण्डले कम्युनिस्ट विचारमा माक्र्स, लेलिन र माओको विचार संयोजन भएको सन्देश पनि दिएका हुन् ।











प्रतिक्रिया