मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

नव निर्वाचित भाजपाका दुई विधायक सरकारको ट्रेजरी ब्याञ्चमा, १० विधायकको आएन गन्ति

मन्त्री परिषद्मा कुनै फेरबदल हुनेछैन

दैनिक नेपाल २०७६ कार्तिक ८ गते १९:२०


-जगन दाहाल
गान्तोक, ८ कात्तिक । सिक्किमको वर्तमान एसकेएम सरकारले अहिलेको मन्त्री परिषदमा कुनै परिवर्तन नगरी सरकारलाई सुचारू रूपमा अघि बढाउने भएको छ ।

चुनावमा आसन बाँडेर उपचुनावमा राम्रो परिणाम ल्याउन सक्षम भाजपा र एसकेएमको सहयात्रा अगाडी पनि निरन्तर रहने एसकेएमका प्रवक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले बताएका छन् ।

उनले यस भन्दा अझ महत्वपूर्ण राजनीतिक मन्तव्य दिँदै उपचुनावमा विजयी बनेका भाजपाका दुईजना विधायकहरूलाई विधानसभामा सरकार पक्षीय आसन सुनिश्चित गरिने अर्थात ट्रेजरी ब्याञ्चमा उनीहरूको स्थान रहने बताए ।

यद्यपी विपक्षी दल एसडीएफबाट भाजपामा सामेल भएका दस जना विधायकलाई भने निर्वाचित विधायक द्वयलाई सरह सरकार पक्षमा नराख्ने एसकेएम पार्टीको स्पष्ट अडान रहेको बताए ।

यस बारेमा भाजपाको केन्द्रीय समिति र हाई कमानलाई समेत एसकेएमले अवगत गराइसकेको अनि त्यहाँ रहेका भ्रष्टचारमा सम्मिलित विधायकहरू विरुद्ध एसकेएमले जनतालाई दिएको वचन पूरा गर्नपनि पछि नपर्ने मन्तव्य जाहेर गरे ।

अर्कोतिर प्रवक्ता खालिङले गान्तोकको एसकेएम मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी र सरकारको तर्फबाट उप चुनाउको निम्ति जनतालाई बधाई दिँदै मुख्यमन्त्री पीएस गोलेलाई विपुल मतले विजयी बनेर जीत दर्ता गर्दै निर्वा्चित मुख्यमन्त्री बन्न सफल भएकोमा पार्टीको तर्फबाट बधाई तथा सिक्किम विकासको अग्रगतिमा जाने दिशामा विश्वास व्यक्त गर्दै बधाई दिए ।

उनले एसकेएम भाजपा गठबन्धनमा विजयी बनेका दुईजना भाजपा विधायक वाईटी लेप्चा र सोनाम छिरिङ भेञ्चुङपालाई पनि एसकेएम पार्टीको तर्फबाट बधाई दिँदै गान्तोक र रुम्तेक क्षेत्रका जनताप्रति पनि आभार प्रकट गरेका छन् ।

उपचुनावको परिणामपछि हार स्वीकार गरिसकेका वपक्षी दल अनि निर्दलीय उम्मेद्वारहरूलाई पनि प्रजातान्त्रिक प्रणालीको धर्मलाई निर्वाह गर्दै चुनावी प्रकृयामा सहभागी बनेर आफ्नो प्रतिस्पर्धा जनाएकोमा उनीहरूको विपक्षी धर्मलाई सम्मान गर्दै आभार प्रकट गरेका छन् ।

अर्कोतिर भविष्यमा पनि प्रजातान्त्रिक प्रणाली अन्तर्गत हुने चुनावहरूमा विपक्षीहरूको सक्रीय सहभागिताको कामना राखेका छन् ।

पत्रकार सम्मेलनमा प्रवक्ता खालिङले विपक्षी दल एसडीएफका अध्यक्ष पवन चामलिङले उपचुनाव पछि गरेको प्रेसवार्ताको विभिन्न बुँदाहरूलाई केलाएर सत्तारूढ दलको प्रतिक्रियामा अझैपनि एसडीएफ अध्यक्ष चामलिङले हार स्विकार गर्न नसकिरहेको अनि उनी आफ्नै किल्लाबाट परास्त भइसकेको कुरालाई स्वीकार गर्ननसकेर झूठ र फरेवको राजनीति गर्न मै तल्लीन रहेको आरोप लगाए ।

उनले उपचुनावको समय हिंसा भएको भन्दै मिडियमा फैलाएको हल्ला कहीँ सावित नभएको अनि जनतामा डरको माहोल भएको भन्ने मन्तव्यलाई ८४ प्रतिशत अधिक मतदान पाएर मुख्यमन्त्री पीएस गोलेले निर्वा्चित मुख्यमन्त्री बनिसकेपछि अध्यक्ष चामलिङले लगाएको आरोपहरू कतिसम्म साँचो र सही थियो भन्नेकुरा पुष्टी भइसकेको बताए ।

हिंसाको मामिलालाई पुष्टिगर्ने कुनै बलियो प्रमाण नभएको दावी गर्दै प्रवक्ता खालिङले यदी छ भने पुलिस जाँचको निम्ति दिनुपर्ने माग राखे ।

यसरी नै राज्यमा नागरिक समाज नभएको पूर्व मुख्यमन्त्री चामलिङको मन्तव्यलाई खण्डन गर्दै २५ वर्षे आफ्नो शासन कालमा नागरिक समाजको भूमिकामा आफ्नै पार्टीका क्याडरहरूलाई अनिवार्यरूपमा राख्नुपर्ने अनि संघसंस्थामा पनि आफ्ना पार्टी कार्यकर्ताहरूको धलीमली गराउने नीतिले सिक्किमबाट नागरिक समाज शून्य भएको हुनाले अब उसो भने प्रत्येक संघसंस्था र जिम्मेवार नागरिकहरूलाई राजनीतिको झण्डादेखि बाहिर राखेर स्वतन्त्र राखेर सोच्ने र कार्यगर्ने माहोल सिर्जना गर्न एसकेएम सरकारको मुख्यमन्त्रीबाटै घोषणा भइसकेको दावी गरे ।

यसैगरी पूर्व मुख्यमन्त्रीले गरेका विभिन्न बयानहरूको खण्डन अर्का प्रवक्ता तथा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माले गरेका थिए ।

उनले २००९ को रोलू बन भोजको सम्झाना गर्दै उक्त वनभोजलाई सरकारले राजनीतिक आँखाले हेरेर कसरी नागरिक समाजको अधिकारमाथि दबाउ गर्ने प्रयास गरेको थियो ।

त्यसबाटै प्रमाणित हुने बताउँदै अब यस्ता मन्तव्यहरूको प्रतिक्रिया भन्दा सरकारले सही नीति निर्धारण गर्ने बताए । भारतीय गोर्खालीहरूमाथि तृणमूल नेतृ तन्वी दासले गरेको मन्तव्यको घोर भर्त्सना गर्दै प्रवक्ता खालिङले भारतीय गोर्खाहरूको भारतको सम्विधानमा हस्ताक्षर भएको बताउँदै यो धर्ती र भारत भइञ्जेल भारतीय गोर्खाहरूलाई कसैले खेद्न नसक्ने बताए ।

उनले एसकेएम सरकारले सिक्किमका सबै समुदायलाई सिक्किममा सुरक्षित राख्ने अनि सिक्किमबाट हटाउनसक्ने प्रतिबद्धता जाहेर गर्दै विपक्षीका नेता पवन चामलिङले आफ्नो कार्यकालमा कुनै जातिको हितको निम्ति काम नगरेको अनि अहिले आएर पनि देशबाट गोर्खाहरूले खेदिमाग्नेछन् भन्ने मन्तव्य व्यक्त गर्दै गैर जिम्मेवारी पूर्ण नीति अवलम्बन गरिरहेको दावी गरे ।

उनले तन्वी दासको मन्तव्यको खण्डन गर्नको साटो गैर जिम्मेवार पूर्ण मन्तव्य दिएर उल्टै भारतबाट गोर्खालीहरूलाई खेद्ने शङ्केत दिँदै आफू स्वयं पनि त्यो षड्यन्त्रमा सहभागी भइरहे जस्तो मन्तव्यको सबैले भर्त्सना गर्नुपर्ने बताए । पत्रकार सम्मेलनमा महासचिव विरेन्द्र तामलिङ अनि मुख्यमन्त्रीका गोपनीय सचिव विकास बस्नेतले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित