मुम्बई, ८ कात्तिक । भारतको महाराष्ट्रमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र शिवसेनाको गठबन्धन विजयी बनेको छ ।
हरियाणामा कुनै पनि दलले बहुमत ल्याउन असफल भएका छन् । दुवै राज्यमा भारतीय जनता पार्टी सबैभन्दा ठूलो दलको रुपमा कायम रहेको छ । हरियाणामा भाजपाले बहुमत गुमाएको छ ।
९० विधानसभा सिट रहेको हरियाणामा भाजपाले यसअघि एकल रुपमा ४७ र गठबन्धनमा रहेको शिरोमणि अकाली दलको एक गरी ४८ सिटसहित स्पष्ट बहुमत पाएको थियो । तर यो पटक ४० सिटमा खुम्चिदै बहुमत गुमाउन पुगेको हो ।
यस्तै भारतीय राष्ट्रिय कांग्रेसले ३० सिट जितेको छ । सन् २०१४ को निर्वाचनमा कांग्रेसले १५ सिट जितेको थियो । यसपटक उनले थप १५ सिट जितेको छ । यद्यपि हरियाणामा भाजपा सबैभन्दा ठूलो दल बनेका कारण सरकार बनाउन ६ सिट आवश्यक छ । हरियाणामा सरकार बनाउनका लागि दुष्यन्त चौटालाको पार्टी जननायक जनता पार्टी (जेजेपी) ले भाजपालाई समर्थन गर्ने बताइएको छ ।
महाराष्ट्र विधानसभामा पुनः भाजपा र शिवसेनाको गठबन्धनले बहुमत ल्याएको छ । यद्यपि अघिल्लो निर्वाचनमा भन्दा यसपटक सिटसंख्या घटेको छ । यो समाचार तयार पार्दासम्म महाराष्ट्रमा भाजपाले १६१ सिटमा जित या अग्रता बनाएको छ भने कांग्रेसको गठबन्धनले ८४ सिटमा जित हात पार्दा २० सिटमा अगाडि रहेको छ ।
यसअघि सन् २०१४ मा भाजपाले १२२ र शिवसेनाले ६३ सिटमा जित हात पारेको थियो । नरेन्द्र मोदी दोस्रो पटक भारतको प्रधानमन्त्री भएपछि पहिलो पटक भएको विधानसभा निर्वाचनमा दुवै राज्यमा भाजपा पहिलेको तुलनामा केही कमजोर देखिएको छ । यसपटक सिटसंख्या घटेपनि भाजपा र शिवसेनाको गठबन्धनले सरकार गठन गर्नका लागि आवश्यक १४५ सिटको आंकडा पार गरेको छ ।
तर महाराष्ट्रमा दुईमध्ये कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा विवाद देखिएको छ । चुनावी परिणामको अनुमानपछि पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा शिवसेनाका प्रमुख उद्धव ठाकरेले पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गर्दै ५०–५० को सुत्रमा जोड दिँदै सोही अनुसार सरकार बन्ने दाबी गरे ।
महाराष्ट्रमा शिवसेनालाई भाजपाको भाई भनिने गरेको भन्दै उनले भने, ‘अब कोही दाजु र कोही भाइजस्तो अवस्था छैन । शक्ति सन्तुलनको कुरा पहिले नै निश्चित थियो । मुख्यमन्त्री को हुने र शक्ति समीकरण कसरी बनाउने भन्ने दुवै पार्टीका नेताले तय गर्नेछन् । आवश्यक परेमा अमित शाह यही आउनेछन् ।’
केन्द्रीय गृहमन्त्री समेत रहेका भाजपा अध्यक्ष अमित शाहले भने हरियाणा र महाराष्ट्र दुवैमा भाजपाले सरकार बनाउने दाबी गरेका छन् । पत्रकार सम्मेलनका क्रममा पत्रकारले शिवसेनाका प्रमुख उद्धव ठाकरेलाई के शिवसेनाले मुख्यमन्त्री पाउँछ भनेर सोधेको प्रश्नमा उनले भनेका थिए, ‘तपाईको मुखमा घ्यु सक्खर परोस् ।’
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले मुख्यमन्त्री पद र सरकार बनाउने प्रश्नको जवाफमा भने, ‘शिवसेना र हामीबीच जे सहमति छ, हामी सोही अनुसार अघि बढ्नेछौं । सही समयमा हामीले लिने निर्णयले सबै कुरा थाहा पाउनुहुनेछ ।’ निर्वाचनका बेला उनले मुख्यमन्त्रीको पद रिजर्भमा रहेको र शिवसेनाले उपमुख्यमन्त्री पाउन सक्ने बताएका थिए ।















प्रतिक्रिया