१ कार्तिक २०८३, आइतबार

डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने कुरा भएपछि सांसद अवरोध

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, ७ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा रिपब्लिकन सांसदले अवरोध गरेका छन् ।

युक्रेन सम्बन्धी अमेरिकी रणनीतिमा जानकार रहेको रक्षा मन्त्रालय पेन्टागनका उच्च अधिकारीसँग संसदीय समितिले बयान लिइरहेका बेला रिपब्लिकन सांसदले नाराबाजी तथा हुलहुज्जत गरेका हुन्।

पेन्टागनका उच्च अधिकारीसँग युक्रेनका सम्बन्धमा जानकारी लिइरहेको संसदीय समितिमा डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीका सांसद छन् ।

तर बाहिर रहेका अरु रिपब्लिकन सांसदले ‘लेट अस इन’ भन्दै नाराबाजी र हुलहुज्जत गरेको जनाइएको छ । संसदीय समितिले रक्षा मन्त्रालयका युक्रेन सम्बन्धी जानकारी उच्च अधिकारी लौरा कूपरसँग बयान लिने क्रम चलिरहेका बेला रिपब्लिकन सांसदले होहल्ला गरेका छन् ।

अमेरिका तल्लो सदनमा डेमोक्र्याटिकको बहुमत छ र संसदीय समितिको नेतृत्वमा पनि उसकै छ । तल्लो सदनले ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा छानबिन गरिरहेको छ ।

सोही क्रममा यसअघि एक उच्च कूटनीतिज्ञले राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई शर्तसहित सैन्य सहयोग उपलब्ध गराएको बताएका थिए । त्यो शर्त जो बाइडेनमाथि अनुसन्धान थाल्नु पर्ने रहेको ती कूटनीतिज्ञको भनाई थियो । त्यसपछि ट्रम्प थप समस्यामा आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरा हन्टरमाथि भ्रष्टाचार अभियोगमा छानबिन गर्न युक्रेनका राष्ट्रपतिलाई दबाब दिएको आरोप छ ।

ट्रम्पले आफ्नो राजनीतिक स्वार्थका लागि आफ्ना प्रतिस्पर्धी राजनीतिज्ञको छवी धुमिल बनाउन विदेशी शक्तिको सहयोग लिन खोजेको आरोप छ । सोही आरोपमा अमेरिकाको तल्लो सदनले ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा युक्रेनका लागि पूर्व अमेरिकी राजदूत बिल टेलरले संसदीय समितिमा बयान दिएका थिए ।

ट्रम्पले गएको जुलाई २५ मा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई टेलिफोन गरेर पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रमष्टाचार मुद्दामा छानबिन गर्न आग्रह गरेका थिए ।