
काठमाडौँ, ५ कात्तिक । विवेकशील नेपाली दलले असोज २८ गतेदेखि सुरु भएको राष्ट्रिय सम्मेलन प्रदेश २ को राजधानी जनकपुरमा सम्पन्न गरेको छ ।
गत असारमा रोल्पामा नीति सम्मेलन गरेको विवेकशील नेपाली दलले यस पटक जनकपुरबाट राष्ट्रिय सम्मेलन गर्दै आफ्नो नेतृत्व चुनेको हो ।
विवेकशील नेपाली दलले आफ्नो पदाधिकारीमा कम्तीमा ५० प्रतिशत महिला नेतृत्व सुरक्षित गरेको छ । १८ वर्षदेखि २१ वर्षसम्मको दुइजना युवालाई केन्द्रीय कमिटीमा सम्मिलित गर्नैपर्ने व्यवस्था गरेको छ । साथै, यसपालि विवेकशील नेपाली दलले दुईवटा अर्को अभ्यास पनि गर्यो ।
पहिलो, माथिको मध्ये कसैलाई पनि दिन्न (नो भोट) अनि दोस्रो, देशमै अनि विदेशमा रहेका सदस्यहरूलाई समेत अनलाइन भोट हाल्न सकिने व्यवस्था हुन् ।
विवेकशील नेपालीले राष्ट्रिय राजनीतिमा पनि विदेशमा रहेका नेपालीहरुले भोट हाल्न पाउनुपर्ने मुद्दा उठाइरहेको छ । त्यसमा विवेकशील नेपालीले आन्तरिक अभ्यास गरेर नयाँ आरम्भ गरेको छ ।
राष्ट्रिय सम्मेलनकै दौरान, विवेकशील नेपाली दलका नेतृत्वले स्थानीय आम नागरिक, नागरिक अभियन्ता, बुद्धिजीवी, विभिन्न दलका नेता अनि सांसदहरूसँग अन्तरक्रिया गरेको थियो ।
मितेरी संवाद अनि समानुभुती संवाद गरेको थियो । कार्यक्रममा प्रदेश दुइका मुख्य मंत्री, सभासद, नेता, अभियन्ताहरु लगायत विभिन्न व्यक्तित्वहरु आएर शुभकामना दिएका थिए ।
विवेकशील नेपाली दलले संघीय समितिको निर्वाचनमा अध्यक्षमा मिलन पाण्डे, उपाध्यक्षमा अजीता राई, महासचिवमा निर्देश सिलवाल, कोषाध्यक्षमा सुमित्रा गुरुङ, नीति सचिवमा सञ्जीव भट्टराई अनि व्यवस्थापन सचिवमा संगीता बाटाजु निर्वाचित गरेको छ ।
अध्यक्षका प्रत्याशी शिव थापा, महासचिवका प्रत्यासी कर्मा तामाङ, नीति सचिवका प्रत्यासी विजयबाबु सिवाकोटी, व्यवस्थापन सचिवका प्रत्यासी अनुमा कोइरालाले समेत ३३ प्रतिशत भन्दा बढी मत ल्याएको हुनाले उनीहरु पनि दलको विधान बमोजिम स्वतः संघीय समिति सदस्यका रुपमा संघिय समितिमा सम्मेलित भएका छन् ।
त्यस्तै, संघीय समिति सदस्यमा आलोक सुवेदी, आशुतोष प्रधान, महेश पाठक, जेसन वैद्य, सचेन घले, प्रमेश श्रेष्ठ, आशिष राई, कृष्ण भट्टराई, शिशिर राई, शिशिर बंजारा निर्वाचित भएका छन् । समिति सदस्य महिलामा रजिया बानु, प्रतिभा डङ्गोल र सरला लामिछाने निर्वा्चित भएका छन् ।
संघीय सदस्य (आदिवासी र जनजाति) मा छिरिङ तामाङ, संघीय सदस्य (मुस्लिम समुदाय) जमाल अलि, संघीय सदस्य (युवा समूह) मनिश खनाल निर्वाचित भएका छन् ।











प्रतिक्रिया