लण्डन, ५ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशका सबै सैनिक सिरियाबाट फिर्ता नहुने बताएका छन् अगस्टको दोस्रो हप्ताको सुरुमा ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने घोषणा गरेका थिए ।
त्यसलगत्तै टर्कीले सिरियाको उत्तरी क्षेत्रमा कुर्दिसलाई लक्षित गरी सैन्य आक्रमण सुरु गरेको थियो । ट्रम्पले टर्कीलाई आक्रमणका लागि स्वीकृति दिएको भन्दै तीव्र आलोचना भएको छ ।
इस्लामिक बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) विरुद्धको लडाईँमा कुर्दिसहरुको सिरियन डेमोक्र्याटिक फोर्सेज (एसडिएफ) ले साथ दिँदै आएको थियो । तर ट्रम्पले कुर्दिसलाई एक्लै पार्ने गरी सैनिक फिर्ता बोलाउने निर्णय गरेपछि टर्कीले आक्रमण गर्दा लाखौँ बिस्थापित भएका छन् ।
टर्की कुर्दिसलाई आतंकवादी मान्छ । हाल कुर्दिस र टर्कीबिच अस्थायी युद्धविराम भएको छ र त्यो मंगलबार बेलुका सकिँदैछ । कुर्दिस लडाकु मंगलबार बेलुकासम्ममा तय गरिएको स्थानबाट नबाहिरिएमा कडा कारवाही गर्ने टर्कीले बताइसकेको छ ।
यहिबिचमा ट्रम्पले सिरियाबाट पूरै अमेरिकी सैनिक फिर्ता नहुने बताएका हुन् । तेल उत्पादन क्षेत्र र इजरायल तथा जोर्डनको सीमामा अमेरिकी सैनिक रहने ट्रम्पले बताएका छन् ।
सिरियाको उत्तरी क्षेत्रमा कुर्दिसको नियन्त्रण छ । तर अमेरिकाले साथ छोडेपछि सिरियाली सैनिकले उनीहरुको रक्षाका लागि साथ दिएका छन् ।















प्रतिक्रिया