
काठमाडौँ, ४ कात्तिक । नेपाल र अष्ट्रिया उर्जा क्षेत्रमा सहकार्य गर्न तयार भएका छन् । नेपाल र अष्ट्रियाबीच बनेको उर्जा संयन्त्रको पहिलो सचिवस्तरिय बैठकमा दुवै देश उर्जा क्षेत्रमा सहकार्य गर्न तयार भएका हुन् ।
काठमाडौंमा सोमवार बसेको संयन्त्रको पहिलो वैठकमा नेपालको तर्फबाट उर्जामन्त्रालयका सचिव दिनेश घिमिरे र अष्ट्रियाको तर्फबाट त्यहांको यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टीलर सहभागी थिए ।
सम्झौतापत्रमा नेपालको तर्फबाट उर्जामन्त्रालयका सहसचिव प्रविणराज अर्याल र अष्ट्रियाबाट सल्लाहकार सोन्जा स्टीलरले गरेकी थिईन् ।
संयन्त्रको पहिलो बैठकमा ६ सय ३५ मेगावटको दुधकोशी र १ सय मेगावाटको तामाकोशी–५ जलविद्युत आयोजनामा आवश्यक लगानी सहयोग गर्ने र अन्य जलविद्युत आयोजनाहरुको हकमा समेत भविष्यमा सहकार्य गर्ने सहमती भएको उर्जामन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले बताए ।
त्यसैगरी नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रको क्षमता अभिवृद्धिको लागी समेत प्राविधिक सहयोग गर्ने समझदारी बनेको छ ।
नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्यसम्बन्धी समझदारी पत्रमा गत जेठ ८ मा हस्ताक्षर भएको थियो । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले अष्ट्रियाको राजधानी भियनामा त्यहांका समकक्षी एन्दे्रईस रेईकार्डसंग सो सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
दुई देशबीच उर्जाको क्षेत्रमा आर्थीक लगानी, प्राविधीक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान प्रदान गर्ने उक्त सहमतीमा उल्लेख थियो । त्यसका साथै परियोजनाहरुको पहिचान गरेर संयुक्त कार्यसमुह बनाएर काम गर्ने समझदारी समेत त्यतिबेला भएको थियो ।
समझादरीअनुसार उर्जा र वैकल्पिक क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने समझदारीअनुसार सोमबार दुवै पक्षबीच उक्त सहमती भएको हो ।
मन्त्री पुनले उर्जामन्त्रालयको कार्यभार सम्हालेसंगै चीन, वङगलादेश र अष्ट्रियासंग उर्जासमझदारीमा हस्ताक्षर भएको छ । त्यसका साथै भारतसंग इनर्जी वैङकिङ, अन्र्तदेशिय प्रशारण लाईन, पिटिएको गाइड लाइन समेत संशोधन भएको छ ।











प्रतिक्रिया