बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

आलम प्रकरण : सिडिओलाई थाहा भएको घटना आईजी र गृह मन्त्रीले कसरी पत्तो पाएनन् ?

दैनिक नेपाल २०७६ कार्तिक ४ गते १४:०९

काठमाडौं, ४ कात्तिक । रौतहटको फरहदवामा १२ बर्ष अघि बम विस्फोट र कतिपयलाई जिउँदै इटा डढाउने भट्टीमा हाली आततायी हत्या गरिएको अभियोगमा कांग्रेस सांसद महोम्मद अफताव आलमलाई पक्राउ गरी बयान लिने क्रम जारी छ ।

आलमले उक्त प्रकरणलाई काल्पनिक घटनाको चित्रण गरे पनि त्यसबेलाका कतिपय सुरक्षा अधिकारी, जिल्ला सुरक्षा अधिकारीका फरक–फरक बयानले विरोधाभाष र विवाद झन् तन्काएको छ ।

त्यसबेला रौतहट जिल्ला प्रहरी प्रमुख रहेका लक्ष्मण न्यौपानेको टिकापुरमा भएको मधेस आन्दोलनका क्रममा हत्या भइसकेको छ । आलमसँग मिलेर न्यौपानेले घटनाको अनुसन्धान अघि नबढाएको भन्ने अभियोग पनि छ ।

२७ चैतमा भएको उक्त घटनाका सन्दर्भमा त्यसबेलाका प्रहरी प्रमुख रहेका तत्कालिन आईजी ओमविक्रम राणाले घटनाबारे आफूलाई कसैले जानकारी नदिएको बताइसकेका छन् । यस्तै त्यसैबेला गृहमन्त्री रहेका कृष्णप्रसाद सिटौलाले पनि यस प्रकरणमा आफूलाई बचाउको दृष्टिकोणमा बयान दिइरहेका छन् ।

तर गृह मन्त्रालय माथाहतमा नै रहने जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी सम्हालेका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सिडिओ) दुर्गा भण्डारीले भने घटनाको सत्यतथ्य छानबिन गर्न तत्कालिन प्रहरीलाई निर्देशन दिएको विवरण अगाडि सारेका छन् ।

यतिमात्र होइन, उनले त्यसैबेला राष्ट्रिय मानव अधिकार आयोगले छानबिनका क्रममा आफूसँग बयान लिएको पनि उल्लेख गरेका छन् । ‘मैले त्यसबेला प्रहरीको भूमिका ठिक देखिन मानव अधिकार आयोगको बयानमा पनि मैले यहि भनेको छु’, भण्डारीको बयानलाई उदृत गर्दै समाचार माध्यमहरूले जनाएका छन् ।

सिडिओको निर्देशन प्रहरीले नमानेको र मानव अधिकार आयोगको बयानमा पनि यहि भनेको विषयलाई उनले उपल्लो कार्यालय गृह मन्त्रालयमा पनि जानकारी गराएको हुनुपर्छ ।

मन्त्रालयमा जानकारी भएको चिज तत्कालिन गृहमन्त्री सिटौला र प्रहरी प्रमुख राणालाई कसरी पत्तो भएन ?

२७ चैत २०६४ साँझ ६.१५ बजे रौतहट–२ बाट नेपाली कांग्रेसका तर्फबाट संविधान सभाको निर्वाचनमा उम्मेदवार रहेका मोहम्मद आफताब आलमले चुनाव प्रभावित गर्ने उद्देश्यले बम बनाउने क्रममा विस्फोट हुँदा २ नेपालीसहित भारतीय नागरिकहरूको मृत्यु भएको थियो । तर, मृतकको संख्या यकिन हुन सकेको छैन ।

स्थानीयका अनुसार, विस्फोटमा घाइते तथा मृतकहरुलाई नजिकैको इँटाभट्टामा जलाइएको थियो । यस प्रकरणमा पीडित परिवारले उजुरी दिएका छन् भने आलमका सहयोगी रहेका तर पीडित नै एक जनाको उजुरीका आधारमा अनुसन्धान जारी राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित