
काठमाण्डौँ, ४ कात्तिक । दाङस्थित तत्कालीन वेष्टर्न बैँक हाल देव विकास बैंकमा भएको झन्डै १८ करोड रूपैयाँ बराबरको रकम हिनामिना प्रकरणमा तत्कालीन वेष्टर्न बैँक सञ्चालक खड्ग बहादुर बुढाथोकीसहित ५६ जनामाथि बैंकिङ कसुर मुद्धा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले देव बैंकको १८ करोड हिनामिना प्रकरणमा अनुसन्धान गरेर शुक्रबारमात्रै जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
आइतबार जिल्ला सरकारी वकिल कार्यालयले बुढाथोकीसहित ६ जना बैँक सञ्चालक, एक जना अडिटर, सिइओसहित ६ जना बैँक कर्मचारी, खाताको रकम दुरुपयोग गर्ने ४३ जना गरेर ५६ जनामाथि तुलसीपुरस्थ्ति उच्च अदालत तुलसीपुरको वाणिज्य इजलाशमा मुद्धा दर्ता गरेको हो ।
मुद्धा दर्ता गर्नेक्रममा बैँक सञ्चालकहरु र सिइओ फरार रहेको उल्लेख गरीएको छ । जिल्ला सरकारी वकिल कार्यालय दाङका कार्यालय प्रमुख सुशिल देवकोटाले तत्कालीन वेष्टर्न बैँक नारायणपुर हाल देव विकास बैँकका म्यानेजर समिर बुढाथोकीलाई मुख्य योजनाकार र अन्य बैँक सञ्चालक, ऋण वोर्डका सदस्य, अडिटर, बैँकका सिइओसहितका कर्मचारीहरु र खाताको रकम दुरुपयोग गर्नेलाई सहयोगीका रुपमा मुद्धा दर्ता गरिएको जानकारी दिए ।
सरकारी वकिल कार्यालयले बैँक हिनामिना प्रकरणमा तत्कालीन बेष्टर्न बैँकका सञ्चालकहरु बैँक सञ्चालक खड्गसहित बैँक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी, सञ्चालकहरु अर्जुन बुढाथोकी, वेगमबहादुर भण्डारी, शेषमणि गौतम, निर्मल देवकोटामाथि बैंकिङ कसुर मुद्धा चलाएको कार्यालय प्रमुख देवकोटाले जानकारी दिए ।
त्यस्तै हिनामिना प्रकरणमा तत्कालीन बेष्टर्न बैँकका सिइओ खिमबहादुर डिसि, बैँकका कर्जा विभाग प्रमुख अनिल कुमार न्यौपाने, वुटवलका अडिटर प्रेम भुर्तेल, लोन सहायक पोषणराज जैसि, सहायक सिर्जना थापासहीत ६ जना र खाताको रकम दुरुपयोग गरेकोमा बसन्त बहादुर बस्नेतसहीत ४३ जनामाथि मुद्दा दर्ता गरीएको छ ।
सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्धामा १८ करोड ३ लाख ७२ हजारको दोब्वर विगा े(३६ करोड बढी) सहित वमोजीम जरीवाना र अभियुक्तलाई कैद सजायको माग गरीएको छ ।
कार्यालय प्रमुख देवकोटाले तत्कालीन व्राञ्च म्यानेजर बुढाथोकिले कृत्रित ३६ जनाको नक्कली कर्जा बनाई गलत कर्जा प्रवाह गरी बैँकको सो रकम हिनामिना गरेको अनुसन्धानकाक्रममा देखिएको बताए । उनले हिनामिना प्रकरणमा सिइओ, लोन अधिकृतसहीत कर्मचारी र वैँक सञ्चालकहरुले कृतिम नक्कली कर्जा बनाउँदासमेत चरम लापरवाही देखीएको जानकारी दिए ।
उनले अनुसन्धानका क्रममा एकै दिन बैँकको हिसाब किताब अडिट गरीएको पनि खुल्न आएको बताए । व्राञ्च म्यानेजरले २ लाख भन्दा बढि कर्जा नै प्रवाह गर्न नपाउने नियम रहेकोमा यति ठुलो रकम हिनामिना भएकाले यसमा बैँक सञ्चालक, सिइओकोे चरम लापरवाही देखिएको देवकोटाको भनाई छ ।
सबैलाई एउटै विगो बमोजिम जरीवाना र कैद माग गरीएको पनि उनले बताए । बैकिङ कसुर मुद्धामा विगो बमोजिम जरीवानासहित दुई वर्षदेखि ६ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको वकिल कार्यालयले जानकारी दिएको छ ।
अनुसन्धानका क्रममा सुरुमा गल्ती व्राञ्च म्यानेजरको देखिन्छ । त्यसपछि कर्जा विभाग प्रमुख हुँदै सिइओको प्रष्टरुपमा लापरवाही नै हो । त्यतिमात्रै होइन, बैँक सञ्चालक, ऋण वोर्ड सदस्यको त झनै ठुलो चरम लापरवाही अनुसन्धानका क्रममा देखियो–कार्यालय प्रमुख देवकोटाले भने–पदिय दायित्व अनुसारको कसैले पनि आफ्नो जिम्मेवारी बसेको पाइएन ।
त्यसैले सबै ५६ जना विरुद्ध एउटै विगोअनुसार जरीवाना र कैद माग गरेर मुद्धा दर्ता गर्यौ । उनले यो घटनामा संलग्न दोषी कसैलाई पनि नछोडि मुद्धा पेश गरिएको पनि बताए ।
भदौ ३ गते बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ गरेको थियो । उनि पक्राउ पर्नु पूर्व नै केही सञ्चालकहरुको बीचमा तत्कालीन वेष्टर्न बैँकका सिइओ खिमबहादुर डिसीलाई सिइओ बनाउने खालको डिलिङ भएको कुुरा पनि बाहिर आएका छन् ।
केही बैँक सञ्चालकहरुको डिसिलाई सिइओ बनाएर यो घोटाला प्रकरणलाई त्यतिकै सामसुम पारेर भित्रभित्रै मिलाउने योजनाअनुसार त्यो डिलिङ भएको र पछि ब्राञ्च म्यानेजर पक्राउ परीसकेको योजना सफल नभएको बैँकका एक जना कर्मचारीले बताए ।
बैँक मर्ज हुनेक्रममा भित्रभित्रै घोटाला रकम मिलाउन वर्ष्दिनसम्म समय दिएपनि त्यो रकम जम्मा नभएपछि बैँकले किटानी जाहेरी दिएर जिप्रकामा मुद्धा दर्ता गरेको हो ।
दाङ प्रहरीले बैंकिङ कसुर तथा सजाय ऐन अन्तरगत ६० दिन थुनामा राखेर अनुसन्धान पूरा गरेपछि सरकारी वकिल कार्यालयले मुद्धा दर्ता गरेको हो ।
प्रहरीले केही दिन पहिले अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयमा पठाइसकेकाले आइतबार मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जकन भट्टराईले जानकारी दिएका छन् ।
‘हामीले अनुसन्धान पूरा गरेका छौं, दोषीहरूलाई फाइन्डआउट गरेका छौँ । सरकारी वकिल कार्यालयले फाइल अदालत पुर्याइसक्यो’ एसपी भट्टराईले भने ।
एपपी भट्टराईका अनुसार अनुसन्धानमा बैंकका सिइओ, सञ्चालक समिति समेत गरि झन्डै ५६ दोषी देखिएको प्रतिवेदन बुझाएको छ ।
घोराही उपमहानगरपालिका वडा नं १० नारायणपुर स्थित तत्कालीन बैष्टर्न बैंक तथा हालको देव विकास बैंकबाट १८ करोड ३ लाख ७२ हजार रुपैंया हिनामिना गरेको उजुरी पछि प्रहरीले बैंकका म्यानेजरलाई लमहीबाट पक्राउ गरेको थियो ।
घोराही १० नारायणपुर निवासी म्यानेजर बुढाथोकीको बयानका आधारमा प्रहरीले यो अवधिमा थप १४ जनालाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेका मध्य तीन जना तारेखमा छुटेपनि अन्य १४ जनालाई भने हिरासतमा राखेर अनुसन्धान गरेको हो ।
घोराही उपमहानगर १० स्थित नारायपुर बजारमा रहेको बैंकको शाखाबाट कर्जा स्वीकृती नगराई गलत उदेश्यले ऋण प्रवाह गरेको आरोप म्यानेजर बुढाथोकीमाथि छ ।
वेस्टर्न डेभेलपमेण्ट बैंक गएको असारमा मात्रै देव विकास बैंकसँग गाभिएको थियो । बुढाथोकी २०६७ सालदेखि वेष्टर्न डेभेलपमेण्ट बैकमा म्यानेजरका रूपमा कार्यरत थिए ।
म्यानेजर बुढाथोकीले ३५ जना नक्कली ऋणी खडा गरेर व्यक्तिगत लाभका लागि गैर कानुनी काम गरेको तथा बैंकको १८ करोड रकम घोटाला गरेको अभियोग छ ।
ब्रान्च म्यानेजरले बढीमा २ लाख भन्दा बढीको लोन दिन नपाउने भएपनि त्यस विपरित मिलेमतोमा नक्कली ऋणि खडा गरि बैंकको ठूलो धनराशी घोटाला गरेको प्रहरीले यसअघि नै बताइ सकेको छ ।
घटना बाहिरिएपछि त्यति धेरै रकम हिनामिना प्रकरणमा मिलेमतो नभएर म्यानेजर एक्लैले मात्रै केही गर्न नसक्ने हुँदा बैंकका सिईओ, अन्य कर्मचारी र सञ्चालक समितिका पदाधिकारीको समेत मिलेमतो रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।
त्यति ठूलो कारोवारो गर्दा होस वा लोन दिन लाग्दा बैंकका सिइओ, लोन अधिकृत, बैंक सञ्चालकको लोन समितिले स्विकृती गर्नुपर्ने हुन्छ । त्यो नगरी लोन दिन मिल्दैन ।
तर देव बैंकमा त्यो सबै प्रक्रिया विपरित काल्पनिक र नक्कली ऋणी खडागरी रकम अपचलन गरिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताएका छन् ।
सिइओ, बैँक सञ्चालक सबै फरार
त्यस्तै, करिब १८ करोड हिनामिना गरेको घटना बाहिरएदेखि नै बैंकका सिईओ खिमबहादुर डिसी फरार छन् । डिसी विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी राखेको छ । सिइओसहीत अन्य वैँक सञ्चालकहरु पनि फरार रहेका छन् ।
दशैंमा सिईओ डिसीलाई पक्राउ गर्न घरमै प्रहरी पुगेको भएपनि उनी फेला परेनन् । जिल्ला प्रहरी दाङले उनीसहित बैँक सञ्चालकलाई फरार अभियूक्तको सूचिमा राखेको प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।
‘सिइओ लगायत दोषी देखिन आएका वैँक सञ्चालक अरु सबै फरार छन् ।’, डिएसपी शाहले भने ।
त्यसैगरी बैंकको घोटाला प्रकरण सार्वजनिक भए लगतै सिइओ डिसी लगायका कतिपय ऋणहरु समेत फरार छन् ।
‘आर्थिक लालचका कारण कतिपय रकम जम्मा गर्नेहरु पनि अप्ठेरोमा परेको हुनसक्छन् ।
बैंकका म्यानेजर बुढाथोकीले मिटर ब्याजमा रकम फिर्ता गर्ने भन्दै विभिन्न व्यक्तिहरु सँग आवश्यक प्रक्रिया नै पुरा नगरी रकम निकासा गरेको जस्तो देखिन आएको प्रहरी अनुसन्धानले देखाएको छ ।
बैंकक म्यानेजर र सिइओ समेतले सर्वसाधारणबाट रकम लिदा कुनै भरपाई नगराउने तर त्यसको व्याज दिदा भने उनीहरुको खातामा रकम जम्मा गरिदिने गरेको हुँदा म्यानेजरलाई विश्वास गरेर लगानी गर्नेहरु समेत फसेको देखिएको छ ।
‘कुनैदिन दाङ प्रदेश राजधानी हुन्छ भन्ने हल्लाले गर्दा उनीहरुले धेरैसँग रकम माग्दै मिटर व्याज दिने सर्तमा ल्याएर व्यक्तिगत लाभका लागि जग्गामा लगानी गरेको पनि हुन सक्छन्,’ एक प्रहरी अधिकारीले भने ‘तर, दाङ राजधानी भएन र जग्गा नबिकेपछि उनीहरु अप्ठेरोमा परेको हुनुपर्छ ।’
राष्ट्र बैँक,सिआईबी र जिप्रका दाङले १८ करोड घोटाला प्रकरणको अनुसन्धान गरेका थिए । अनुसन्धानका क्रममा सिईओ, बैँक सञ्चालकको खाता नै रोक्का गरिएको एक प्रहरी अधिकारीले बताए ।











प्रतिक्रिया