
काठमाडौं, ४ कात्तिक । राष्ट्रिय मानव अधिकार आयोगले २७ चैत, ०६४ मा रौतहट नरसंहार प्रकरणका अनुसन्धानलगायतका सबै फायल झिकाउने प्रक्रिया थालेको छ ।
त्यसबेला सर्वोच्च अदालतले गरेका आदेश, फैसला, राष्ट्रिय मानव अधिकार आयोगले गरेको अनुसन्धान, प्रहरी अनुसन्धानलगायतका फायल झिकाउने प्रक्रिया सुरु भएको आयोगका अध्यक्ष अनुपराज शर्माले बताएको विवरण बाहिर आएको छ ।
शर्माले केही सञ्चारमाध्यममा कुराकानी गरी घटनाका बेला आफू सर्वोच्च अदालतको न्यायाधीश रहेको र ०७१ देखि मात्र आयोगमा रहेको जनाउँदै त्यसका विवरण माग्न थालिएको बताएका छन् ।
०६४ को पहिलो संविधानसभाको निर्वाचन हुनु एक दिन अघि शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको थियो ।
विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाइएको आरोप लगाउँदै उनीहरुको परिवारका सदस्यहरु श्रीनारायण सिंह र रोक्साना खातुनले नेपाली कांग्रेसका सांसद मोहम्द अफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए ।
सोही जाहेरीलाई आधार मानेर अफताव आलमलाई पक्राउ गरिएको छ । उनको बयान लिने काम सुरु भइसकेको रौतहट प्रहरीले जनाएको छ ।
सोही मुद्दामा सर्वोच्च अदालतबाट २०६९ जेठ १६ गते मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारवाही गर्ने आदेश दिएको थियो ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आदेश कार्यान्वयन गर्ने सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरलाई ८ चैत, २०७५ मा मुद्दा चलाउन पत्राचार गरेको थियो । सोही प्रक्रियाअनुसार रौतहट प्रहरीले आलमलाई २६ असोजमा पक्राउ गरेको थियो ।











प्रतिक्रिया