१ कार्तिक २०८३, आइतबार

क्वन्टास एयरलाइन्सले रच्याे कीर्तिमान

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३ कात्तिक । क्वन्टास एयरलाइन्सले लगातार १९ घण्टाभन्दा बढी समय उडान गरेर कीर्तिमान रचेको छ ।

समाचार एजेन्सीहरुका अनुसार क्वन्टासको ‘क्युएफ ७८७९’ उडान नम्बरको विमान न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयानुसार शनिबार राति ९ बजे ५० यात्रु तथा चालक दलका सदस्य लिएर उडेको थियो ।

विमानलाई न्युयोर्कबाट सिड्नीसम्म १६ हजार २०० किलोमिटर दूरी पार गर्न १९ घण्टा १६ मिनेट समय लागेको थियो ।

सामान्यतया यति लामो दूरी पार गर्ने क्रममा विमानहरु ठाउँठाउँमा ‘ट्रान्जिट’ बनाउने गर्दछन् । तर, क्वन्टासले लामो दूरीमा ‘ननस्टप’ व्यावसायिक उडान गर्ने उद्देश्यले परीक्षण उडान गरेको हो ।

सो एयरलाइन्सका अधिकारीहरुका अनुसार तीनवटा परीक्षण उडान गर्ने तालिकाअनुसार पहिलो परीक्षण उडान गरिएको हो । चालक दलका सदस्य तथा यात्रुको स्वास्थ्यमा प्रतिकुल असर नपरेको पाइएमा सन् २०२२÷२३ देखि उक्त रुटमा व्यावसायिक उडान गर्ने लक्ष्य रहेको एयरलाइन्सले जनाएको छ ।

१९ घण्टाभन्दा लामो समय लगातार विमानमा सवार रहेका चालक दलका सदस्य तथा यात्रुको स्वास्थ्य, मानसिक अवस्था लगायतका विषयमा गम्भीर अनुसन्धान गरी यस प्रकारको व्यावसायिक उडानलाई बढी सुरक्षित र जोखिमरहित बनाउन पहल गरिने अधिकारीहरुले जनाएका छन् ।

यति लामो समयसम्म लगातार व्यावसायिक उडान गरेको यो नै पहिलो पटक हो । यसअघि सिंगापुर एयरलाइन्सले १८ घण्टा ५० मिनेटसम्म लगातार उडान गरेको थियो । उक्त एयरलाइन्सले न्युयोर्कबाट सिंगापुरसम्म १५ हजार ३४४ किलोमिटरको यात्रा विश्रामबिना नै पार गरेको थियो ।