काठमाडौं, ३ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् ।
केही दिन अगाडि काठमाडौंको धापासीस्थित निवासमा पोखरेललाई भेट्न दाहाल पुगेका थिए । भेटमा समसामयिक विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।
दाहालले पोखरेलसँग पार्टी एकीकरणका बेला भएको सहमति कार्यान्वयन नभएर आफूलाई धोका भएको भन्दै गुनासो गरेको जनाइएको छ ।
पूर्वसहमति अनुसार पार्टीको जिम्मेवारी नपाएका प्रचण्डले ओलीबाट धोका पाएको गुनासो गर्न थालेको स्रोतले जनाएको छ ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुने बेला भएको सहमतिअनुसार ओलीले प्रचण्डलाई पार्टीको जिम्मेवारी वा सरकारको जिम्मेवारीमध्ये एक दिने भन्ने थियो ।
ओली अहिले प्रधानमन्त्री छन् । पार्टीको अध्यक्ष समेत रहेका ओलीले नेकपाको कमाण्डिङ पनि आफै गर्दै आएका छन् ।
ओलीको कार्यशैलीबाट प्रचण्ड दिक्क भएको माओवादी पृष्ठभूमि भएका नेताहरूले बताएका छन् ।
बिगतमा प्रचण्ड र पोखरेलबीच विवाद थियो । विशेष गरेर उनीहरूका बीच जनताको बहुदलीय जनवादको विषयमा मत बाझिएको थियो ।
पोखरेललाई स्कुल विभाग नदिन पूर्वमाओवादी केन्द्र निकटका नेताहरूले जोड गरेका थिए । पछि ओली–प्रचण्डको सहमतिमा पोखरेलले स्कुल विभाग प्रमुखको जिम्मेवारी दिइएको थियो ।
पछिल्लो समय प्रचण्ड र पोखरेलबीच सम्बन्ध मधुर बनेको छ । पोखरेलको निवासमा प्रचण्ड भेटघाट हुँदै गर्दा नेकपा ओखलढुंगाका कार्यकर्ताहरू पनि पोखरेलकै निवासमा पुगेका बेला प्रचण्ड–पोखरेलबीचको सम्बन्ध देखेर आश्चर्य चकित गरेका थिए ।
आलोपालो प्रधानमन्त्री ओलीले चाहेको विषय नभएकाले पनि पूर्वमाओवादी पक्ष सशंकित बनेको छ । प्रचण्डले पोखरेलसँग भेटघाट गरेको दुई दिनपछि नेताद्वय वामदेव गौतम र माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
नेता गौताम वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वरस्थित निवासमा पुगेका थिए । गौतमले पार्टी अध्यक्ष ओलीले आफूलाई प्रस्तावित उपाध्यक्ष भनेको तर स्थायी कमिटीको बैठक बोलाएर अहिलेसम्म अनुमोदन नगराएको भन्दै दुखेसो पोखेका थिए ।











प्रतिक्रिया