गान्तोक, कात्तिक । राज्यका तीनवटा निर्वाचन क्षेत्रमा भइरहेको उपचुनाउ विषयमा वर्तमान सरकारले तानसाही काण्ड गरिरहेको आरोप लगाउँदै सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले पोकलोक कामराङ निर्वाचन क्षेत्रको पोलिङ बुथ क्याप्चर हुनसक्ने प्रबल सम्भावना रहेको बताएका छन्।
वर्तमान एसकेएम सरकार आफ्नो जिम्मेवारीदेखि भगेको आरोप लगाउँदै उनले एसकेएम पार्टीले सिक्किमे जनताको जन्मसिद्ध अधिकारको उपभोग गर्न नदिएको बताए।
एसडीएफ अध्यक्ष चामलिङले भने, ‘पोकलोक कामरङाका जनतालाई आफ्नो मतको स्वतन्त्र प्रयोग गर्न दिएको छैन। जनतालाई आतङ्कित गरेर राखेको छ, पार्टीका युवाहरू मुखमा पट्टि बाँधेर हिँड्दैछन्, पोकलोक कामराङमा कानुन व्यवस्था पूर्णरूपमा विफल भएको अनि खण्ड विकास अधिकारी र सरकारी अधिकारीहरू एसकेएमका पार्टी कार्यकर्ताको रूपमा काम गरिरहेका छन्।’
पोकलोक काम्राङमा आफू चुनाउ प्रचारमा जाँदा ढुङ्गाको प्रयोग गरिएको र आफ्नो सभास्थलसम्म पुग्न नदिएको जानकारी गराउँदै उनले २५ वर्षसम्म मुख्यमन्त्री गर्नेलाई त यसरी हिँड्न दिएको छैन भने अन्य पार्टीका उम्मेद्वार अनि कार्यकर्ताको के हाल हाला भनेका छन्। सिक्किममा प्रजातन्त्रको हत्या भएको छ भन्दै उनले पोकलोक कामराङका जनताले भोट लगाउन नपाउने स्थिति सिर्जना भएको पनि बताएका छन्।
सिक्किमका लम्बित पुराना मागहरूलाई लिएर एसकेएम भाजपा-को गठबन्धन विषयमा बोल्दै उनले राज्यबाट राखिएका माग पूरा गर्नु केन्द्रको जिम्मेवारी हो र त्यसको निम्ति गठबन्धन गर्नुपर्ने कुनै कारण नरहेको बताए।
उनले सरकार जनतामुखी हुनुपर्छ भन्दै एसकेएम र भाजपाको गठबन्धन जनतामुखी नभएर पार्टीमुखी रहेको अनि त्यो सोझौ जनतन्त्र नभएर पार्टीतन्त्र भएको बताए। पार्टी अध्यक्ष चामलिङले एसडीएफ पार्टीका १२ जना विधायकलाई कुनै पार्टीमा जानु भनेर सल्लाह नदिएको तर उनीहरूलाई पार्टी छोडेर नजानु भन्ने सल्लाह दिएको पनि प्रष्ट पारे।
उनले भने, एसडीएफका विजेता १२ जना विधायकलाई मैले सम्झाएको हो। जनताले विपक्षीमा राखेका छन्। सायद उनीहरूलाई मेरो कुरामा फायदा लागेन र गएका होलान। मलाई आरोप छ १० जना विधायक भाजपालाई बेच्यो भनेर तर दुई जना विधायक एसकेएममा गएको कुरा कसैले गरेको छैन।
उनीहरूको आरोप नै गलत छ। यसरी नै केही दिन अघि भाजपा सिक्किमका पूर्व अध्यक्ष पदम छेत्रीले भनेको कुरालाई सत्यताको पत्तो लगाउने कुरा हो भन्दै भनेका छन् पदम थेत्रीको कुराले सत्य कुराको उद्घाटन गरेको छ।
सिक्किमको विकास र सुरक्षामा भाजपाले काम गर्छ भन्ने हो भने भारतका पूर्वोत्तर राज्यहरूको विकास हेर्नुपर्छ जहाँ अहिले पनि केन्द्रको पार्टीको सरकार छ। २५ वर्षे कार्यकालमा सिक्किमले नसोचेको काम गरेको छ भन्दै आफ्ना २५ वर्षे कार्यकालका कामहरू गन्ति गराए ।
उनले ३७१ एफले दिएको अधिकारको पूर्ण प्रयोग गरेर सिक्किमलाई सुरक्षित राखेको पनि बताए। पार्टी अध्यक्ष चामलिङले आफू सिक्किमे जनताले बनाएको मुख्यमन्त्री हो र उनलाई मुख्यमन्त्री हुन कसैको आशीर्वादको खाँचो छैन पनि भने।
उनले सिक्किममा कर्मापा ल्याउन मैले रोकेको हो भने उनीहरूको सरकारले किन ल्याउन सकेन भनि प्रश्न राखेका छन्। साथै उनले सिक्किममा सीबीआई ल्याउने कुरालाई सोझो चुनौति दिँदै भने, सिक्किममा सीबीआई ल्याओस या भिजिलेन्स लगाको लगाउँदा हुन्छ। अस्ति नै लगाउनुपर्ने थियो। सिक्किमको ३७१ एफ डाइलट भयो भने कुन कुरा र कहाँ भयो त्यो भन्नुपर्छ।
उनले एसकेएम पार्टीको सिक्किमलाई जिल्ला बनाउने त होइन भन्ने प्रश्न गर्दै उनको कुर्सीसँग सिक्किम र सिक्किमे जनताको अधिकार पनि बिक्री भएको बताए ।
















प्रतिक्रिया