मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

नाम पारस, चरित्र ‘कृष्ण’ !

अतुल अभय २०७६ असोज २८ गते ११:२०

-अतुल अभय

यो आलेख यसकारण बन्दछ कि उनी पूर्वयुवराज हुन् । शाह वंशको रजगज रहेको नेपालको अन्तिम राजाका एक्ला छोरा हुन् । अन्तिम राजतन्त्रका एक्ला उत्तराधिकारीका रुपमा ‘युवराज’ पदवी पाएका थिए ।

पारस, यो शव्दमा जति ओज र तेज छ । यसलाई बोक्ने पूर्वयुवराज भित्र त्यो ताकत र शैली देखिएन अझै । न हिजो थियो, न आज नै देखिइरहेको छ । उनले आफ्नो नामको अर्थ ठ्याक्कै उल्टो पार्न थालेका छन्– कृष्ण ।

कृष्णको अर्थ भगवान श्रीकृष्णका हिसाबले राखिएको होइन । त्यसैले हेडलाइनमा ‘इन्भर्टेड’ कमाभित्र छ । यसको अर्थ हुन्छ ‘कालो’ । पारस अर्थात् चम्किलो ढुंगो । उज्यालो, प्रकाश वा सेतो चम्किलो धातु । जसले संसार उज्यालो बनाउँछ । यसैकारण पूर्वराजा ज्ञानेन्द्रले उनको जन्मका बेला खुशीयालीमा यो नामको भावना बुझेका थिए होला । तर उनको चरित्र हिजोका मितिदेखि नै, खासगरी शाहज्यादा हुँदादेखि नै कालो बन्दै गयो ।

दरबार हत्याकाण्डका कतिपय प्रतिवेदनलाई केलाउने हो भने, तत्कालिन युवराज दिपेन्द्रसँग पारसको राम्रो दोस्ती थियो । उनी चुरोटमा कालो पदार्थ मिलाएर खाने गर्दथे । त्यसैले उनको नाम जति नै चम्किलो भए पनि व्यवाहार र चरित्र कालोमुक्त हुन सकेन ।

दरबार दमनकारी बन्दै जाँदा इतिहास बन्यो । इतिहास मानक, श्रद्धा र समझदारीको एउटा विषम अवस्था पनि हो । त्यसैले लोकतान्त्रिक गणतन्त्रको यात्रामा राजतन्त्रका सवाल जबरजस्त उठ्न पाएका छन् । राजसंस्थाको विषय जोडदार भएको छ । जब, कुनै संस्थाको सदस्यको हैसियत राखिन्छ भने त्यसले नैतिक चरित्र कति गोपनिय राख्ने, कति खुलाउने भन्ने विषय अर्थपूर्ण बनिदिन्छ । भर्खरै मात्र एक महिलाको अभियोगका आधारमा व्यवस्थापिका प्रमुख रहेका कृष्णबहादुर महराले पदबाट राजीनामा मात्र दिनु परेन, उनको राजनीतिक जीवनका सबै आयामहरू नै नैतिक रुपमा पतन भए । अब निर्दोष सावित भएर मात्र पनि उनको चरित्रमा लागेको दाग नामेट हुँदैन ।

पारस शक्ति केन्द्रमा हुँदादेखि नै चरित्रका सवालमा अधिक विवादीत थिए, यो क्रम उनको हैसियतमा आएको उतारसँगै स्तरका आधारमा पनि जोडिन थाल्यो । सुधार हुन सकेन ।

यो क्रम त्यसबेलादेखि सतहमा आउन थाल्यो जतिबेला गायक रामकृष्ण ढकाल प्रकरणमा पारस उदण्ड भएका थिए । यो सँगै रुबेल चौधरीसँग चितवनमा भएको प्रकरण र त्यसपछि थाइल्यान्डमा पलायन हुँदा प्रेमिकासँगको चक्कर, जेल र लागुऔषध प्रयोगको अवस्था ।

अब, सतहमा देखिएका उनका केही अध्यायमाथि विश्लेषण गरौं, के यो चरित्रले २ सय ५० बर्षको शाह वंशको विरासतको गुणगान जोगाउन सक्छ ?

आम मानिसले स्वभाविक अनुमान गर्न सक्छन् अब– पारस–सोनिकाको सम्बन्धको दायरा निक्कै साँघुरो छ । कुन हदसम्म भन्नेचाहिँ आउन बाँकी छ । यो सम्बन्धको ‘स्वार्थ’को सीमाचाहिँ आम मानिसले लख काट्न सक्ने देखिन्छ 

लगभग ५ दशकको उमेरमा पुगेका छन् पूर्वयुवराज पारस शाह । जीन्दगीका कठोर समय पार गर्ने बेला हो, नेपालको सन्दर्भमा । उनीसँग नाम जोडेर, संगत बढाएर कोही चर्चामा आउने कोशीशमा हुन सक्लान् । तर, पारसले आफ्नो ऐतिहासिक मानक र सभ्यतालाई जोगाउन सक्नुपथ्र्यो, उनी यसको स्खलनको एक पात्र बनिरहेका छन् ।

केही तस्बिरहरू सार्वजनिक हुँदै जाँदा पारसले हार खाएरै खिचेको हुनुपर्ने भन्ने चर्चा थियो । तर हालैका केही तस्बिर र भिडियोले त्यसलाई गलत सावित गरिदिएको छ । अब, आम नागरिकले पत्याउनेवाला छैनन् ।

पारस र सोनिकाले पोखरामा समय बिताएको सामाजिक सञ्जालमा प्रष्ट हुने आधार र प्रमाण पर्याप्त भेटिए । एउटा भिडियोमा पारसले सोनिकालाई मोटरसाइकलमा लिएर हुँइकिएको देखिन्छ भने, सोनिकाको एउटा टिकटक भिडियोमा होटलको बार्दलीमा पारस देखिन्छन् । एक बर्षअघिदेखि सोनिकाले पारससँगका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नुले सम्बन्धको आकार बढिरहेको प्रष्ट हुन्छ ।

आम मानिसले स्वभाविक अनुमान गर्न सक्छन् अब– पारस–सोनिकाको सम्बन्धको दायरा निक्कै साँघुरो छ । कुन हदसम्म भन्नेचाहिँ आउन बाँकी छ । यो सम्बन्धको ‘स्वार्थ’को सीमाचाहिँ आम मानिसले लख काट्न सक्ने देखिन्छ । पारसका कतिपय सहयोगीले सोनिकासँगको उनको निकटतालाई ‘चिप’ भन्न थालेका छन् । हालको व्यवस्थाको विकल्पमा राजावादीको चहलपहल बढिरहेका बेला पारसका कारण नै राजतन्त्रप्रतिको मोह विग्रन थालेको कतिपयको विश्लेषण छ ।

निर्मलनिवासका एक जना सहयोगी भन्छन्,‘युवराजको गतिविधि अहिलेको समयमा ठिक छैन । चाहिने नचाहिने मानिससँगको उठबस, त्यसमा पनि विवादीत युवतीसँगको उठबसले अर्को सन्देश दिन थालेको छ ।’

दरबारमा जन्म लिएकैले पारसले जीवनको उत्तरार्ध लाग्दासम्म कुनै दुखको अनुभव रत्तीभर गरेका छैनन् । जीवनभर नशा र युवतीमा चुर्लुम्म भएका उनको जीवनको उत्तरार्धको समयचाहिँ आलोचना हुने प्रकारका पात्रसँगको सरसंगतले अझ बदनामी हुने चरणमा छ ।

दरबारका गसिप बन्छन् । चियो र चासो पनि हुन्छ । कति गोप्य होलान् कति खुलस्त होलान् । तर, पारसको जस्तो ‘मतिछाडा’ चरित्रले उनलाई मात्र होइन, उनका समर्थकलाई पनि निराश बनाउनेछ । यो उनको नीजि र व्यक्तिगत मामला भन्ने कुरो आउला । तर राज्यले सुरक्षा दिएको परिवारभित्र, सुविधा दिएको परिवारको सदस्य भएका कारणले उनी अझै नीजि होइनन्, सार्वजनिक हुन् । तर उनको मतिमा सुधार आएकोचाहिँ फिटिक्कै नपाउनु राजावादी या उनलाई बोक्नेहरूका लागि पनि दुखद खबर हो ।

प्रतिक्रिया
सम्बन्धित