बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

जापानमा हागिबिसका कारण जनजीवन प्रभावित

दैनिक नेपाल २०७६ असोज २६ गते ८:१०

टाेकियाे, २६ असाेज । जापानमा शक्तिशाली समुद्री आँधी हागिबिसका कारण जनजीवन प्रभावित भएको छ ।

स्थानीय समय अनुसार शनिबार बेलुका ७ बजे हागिबिस आँधी टोकियोबाट दक्षिण–पश्चिममा रहेको इजु प्रायद्विपको भूमिमा ठोक्किएको हो ।

आँधीका कारण मुसलधारे पानी परेको छ भने तीव्र गतिमा हावा चलेको छ । जसका कारण जापानका अधिकांश क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ ।

हालसम्म आँधीका कारण कम्तिमा पाँचजनाको मृत्यु भएको जनाइएको छ । हागिबिस आँधी पछिल्लो ६० वर्ष यताकै शक्तिशाली र बिनासकारी बन्न सक्ने बताइएको छ ।

हाल हागिबिस आँधी २२५ किलोमिटर प्रति घण्टाको गतिमा जापानको पूर्वी तटीय क्षेत्र तर्फ लागेको छ । आँधीको मार्गमा जापानको मुख्य आवादी क्षेत्र पर्छ ।

आँधीका कारण दुई लाख ७० हजार भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको जापानको सञ्चार संस्था एनएचकेले उल्लेख गरेको छ ।

आँधी अति शक्तिशाली रहेकाले ७० लाख मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ । तर हालसम्म सेल्टरहरुमा बस्नेको संख्या ५० हजार मात्रै रहेको जनाइएको छ ।

टोकियोमा मात्रै आधा मिटरसम्म पानी पर्न सक्ने जापानको मौसम विभागले जनाएको छ । आँधीका कारण हवाई तथा स्थल यातायात सेवा बन्द भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित