बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

सिरियाको उत्तरी क्षेत्रबाट एक लाख मानिसले घर छाडे

दैनिक नेपाल २०७६ असोज २५ गते ९:३५

लण्डन, २५ असाेज । सिरियाको उत्तरी क्षेत्रमा टर्कीले जारी राखेको सैन्य अभियानका कारण सर्वसाधारण नागरिक बिस्थापित भएका छन् । हालसम्म झण्डै एक लाख मानिस घर छोड्न बाध्य भएको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार टर्कीले गरेको आक्रमणका कारण स्थानीय बासिन्दा आफ्नो घर छोडेर हिँड्न बाध्य भएका छन् । कुर्दिसको नियन्त्रणमा रहेको क्षेत्र लक्षित गरी टर्कीले अन्तर–सीमा सैन्य अभियान गएको बुधबारदेखि सुरु गरेको हो ।

टर्कीले आक्रमण सघन बनाउँदै लैजाँदा हालसम्म कम्तिमा ११ जना सर्वसाधारणको मृत्यु भएको जनाइएको छ । टर्किस सेनाले आफ्ना एक सैनिकको पनि मृत्यु भएको जनाएको छ । मृत्यु हुनेको संख्या बढ्ने सम्भावना रहेको मानवअधिकारवादी समूहले बताएका छन् ।

अन्तर्राष्ट्रिय स्तरमै टर्कीले गरिरहेको आक्रमणको निन्दा भए पनि रोकिएको छैन । टर्कीले कुर्दिसलाई आतंककारीको रुपमा लिने गरेको छ । कुर्दिसलाई अमेरिकाले साथ दिँदै आएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियाबाट आफ्ना सेना फिर्ता बोलाउने निर्णय गरेसँगै टर्कीले आक्रमण थालेको हो । ट्रम्पको निर्णयको विरोध भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित