सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

अलमलमा सरकार, उपलब्धी खोइ ?

बि.बि. श्रेष्ठ २०७६ असोज १२ गते १३:४७

-बि.बि. श्रेष्ठ

लामो समयसम्म सत्तामा हालीमुहाली गरेको काँग्रेसले त देश र जनताको लागि केहि गरेन भने हाम्रो सरकार बनेको लामो समय बनेको छैन भनेर बस्ने छुट नेकपाको सरकारलाई छैन ।

त्यही लामो समयसम्म सत्तामा रहेर पनि केही गरेन भनेर न नेकपालाई देशको सबैभन्दा ठूलो पार्टी बनाएको हो भन्ने समेत भेउ नपाउने हो भने अबको तीन वर्षपछि पुनः देश बहुमतीय शासन व्यवस्थामा नै फर्केर सरकार ढलाउने र बचाउने खेल शुरु हुन्छ ।

पटक–पटक सुविधाजनक दुईतिहाई, बहुमत र अल्पमतको समेत सरकार चलाईसकेका यही राजनैतिक पार्टीबाट देश र जनताको परिवर्तन सम्भव छ भन्ने आशा अब कदापी रहनेछैन ।

यसो हुनु भनेको देश र जनताको लागि अभिसाप हो । देशमा विकास र समृद्धिको नारासहित चुनावमा होमिएको तत्कालिन एमाले र माओवादीको एकीकरणबाट निस्केको परिणाम हो अहिलेको दम्भित दुई तिहाईको सरकार । दुईतिहाई सरकार के का लागि र जनता यो सरकारबाट के अपेक्षा राख्दछ भन्ने कुराको समयमा नै सुनुवाई र त्यही अनुसारको काम नहुने हो भने अबको राजनैतिक कोर्स अबको भन्दा भिन्न पनि हुनसक्दछ भन्न सकिन्छ । किनकी, पटक–पटक सुविधाजनक दुईतिहाई, बहुमत र अल्पमतको समेत सरकार चलाईसकेका यही राजनैतिक पार्टीबाट देश र जनताको परिवर्तन सम्भव छ भन्ने आशा अब कदापी रहनेछैन ।

देश संघीयतामा गएपछिको पहिलो वर्ष सरकारले नीति, नियम, कानुन निर्माण गर्दा जनअपेक्षा अनुरुप काम गर्न सकिएन भनेर रोदन गरेता पनि अब भने सरकार र संघीयताले आकार लिएर काम कारवाही गरेर पूर्ण परीक्षण भइसकेको छ । यस बीचमा समस्याको समाधान गरेर संविधान संशोधन गरेर थपघट गरेर थप परिस्कृत र परिमार्जन गर्न सकिन्छ, जुन नेकपाको एकल सरकारले पनि गर्न सक्दछ भने समान मुद्धामा सम्पूर्ण राजनैतिक पार्टीको पनि सहमतिमा अगाडी बढेर संविधान संशोधन गरेर निकास दिन सकिन्छ ।

पदीय दायित्व र जिम्मेवारी बोध बिनाको मन्त्रीगणको व्यवहार र रवैया यही कायम रहने हो भने नेकपाको सरकारको पनि दुर्दशा हुनबाट कसैले रोक्न सक्दैन ।

यो सबै नजिकवाट बुझिसकेको जनताहरुका लागि अब सरकारको रोदन स्वीकार्य हुन सक्दैन । हिजो सरकार बचाउन र ढलाउन तल्लिन हुँदा जनताको काम गर्न सकिएन भन्ने सुविधा अब छैन । यति धेरै सुविधामा पनि सरकार जनअपेक्षा र जनजीविकाका सवालमा अनुदार बनेर सत्ताको फगत चास्नीमा रहिरहने हो भने राम राम मात्र भन्न सकिन्छ, काँध थाप्न सकिन्न । विकास र समृद्धिको लागि सोच र क्षमताको विकास हुनुपर्दछ भन्ने एकमात्र सत्यतालाई समेत नअंगाली पार्टी र साथीका लागि भनेर सत्ता र सरकारमा पुर्याएकाहरुबाट जनताले राहत पाउन सक्दैन भन्ने कुरा बुझ्न ढिला गर्नु हुदैन । हिजोका दिनमा जनतामाझ गरेका प्रतिवद्धता र सोही अनुरुपको कार्य भएन भने जनताले सँधै माफ कदापी दिने छैनन् ।

पदीय दायित्व र जिम्मेवारी बोध बिनाको मन्त्रीगणको व्यवहार र रवैया यही कायम रहने हो भने नेकपाको सरकारको पनि दुर्दशा हुनबाट कसैले रोक्न सक्दैन । पटक–पटक व्यक्तिको परीक्षण अब क्षम्य हुन सक्दैन । विश्व एक्काईसौँ शताब्दीमा रहदाँ पनि देश र जनता सँधै अल्पविकसित र परीक्षण मात्र कदापी हुन सक्दैन । व्यक्तिको कमजोर क्षमतालाई सँधै माफ हुन सक्दैन । यही परिवेशमा अल्झेको नेकपाको सरकार पनि चौतर्फी जनताको कठघरामा उभिएको छ । यसैमाथि सत्ताबाट बाहिरको नेपाली काँग्रेसको रोदन र त्यसमाथि सरकारको लाचरीपनमा जनतामा निराशा छाएको छ । यही परिवेशमा सत्ता चलाएको नेकपाले समयमा नै सच्चिने हिम्मत गरेन भने पुनः त्यही दुर्दशा हुनेमा कुनै शंका छैन ।

संघीयताको अंग रहेको प्रदेश र स्थानीय तहको रुपमा रहेको त्यसको मतियारहरुको रवैयाले झन् झन् सरकारमाथि नै प्रहार हुने क्रम जारी रहेको छ । अधिकांश तहमा नेकपाको एकल सरकार रहेता पनि काम गर्ने परिपाटी र शैलीले जनतामा मात्र होइन आम कार्यकर्तामा समेत नैराश्यता छाएको छ । पदीय जिम्मेवारी र भूमिका वहन गर्ने भन्दा पनि उद्घाटनमा व्यस्त बन्ने शैलीले छोटे राजाको रुपमा दर्ज हुनेहरु जताततै भेटिन थालेका छन् ।

निर्मला हत्याकाण्ड होस, वा तेत्तिस किलो सुन, सिण्डिकेट वा स्वास्थ्य क्षेत्रका समस्या, हरेक क्षेत्रमा असफल सिद्ध बनेको सरकारको काम कारवाहीको मोडालिटी समयमा नै व्यवस्थित र परिमार्जन गर्न आवश्यक छ ।

हिजोको समय र आजको समय धेरै फरक हो भन्ने समेत नबुझेका मन्त्री तथा अध्यक्षगणहरु समयमा नै सच्चिन सकेनन् । पात्र फेरिए पनि प्रवृत्ति नफेरिने हो भने जनआक्रोश बढ्ने निश्चित छ । सरकार गठन पाश्चात नै राजावादी र पश्चगामीहरु सल्बलाउन थालेको समयमा जनताको अपेक्षा अनुरुप काम गर्नु नै अहिलेको आवश्यकता हो ।

सत्ता र शक्ति निश्चित समय सम्मका लागि मात्र हो भन्ने बुझ्न नसकेको नेता र मन्त्रीहरुको काम गर्ने यही कार्यशैली रहने हो भने सरकार असफल हुनेमा कुनै शंका छैन । निर्मला हत्याकाण्ड होस, वा तेत्तिस किलो सुन, सिण्डिकेट वा स्वास्थ्य क्षेत्रका समस्या, हरेक क्षेत्रमा असफल सिद्ध बनेको सरकारको काम कारवाहीको मोडालिटी समयमा नै व्यवस्थित र परिमार्जन गर्न आवश्यक छ । यो वा त्यो बहानामा उम्कन छुट नभएको यो सरकार, अग्रगामी सोचका साथ अगाडी बढ्नुपर्दछ । समय छदैछ भनेर यही गतिमा हिँडने हो भने अन्य कुनै शक्तिले आफ्नो रफ्तार बढाउने छ ।

प्रतिक्रिया
सम्बन्धित