बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

चितवन चुनौति : समाजका दुई ‘अतिवाद आतंक’को छायाँ

विनोद ढकाल २०७६ असोज १२ गते १०:४०

पूर्वप्रहरी महानिरिक्षक अच्युतकृष्ण खरेलको अनुभवमा चितवन सुरक्षाका हिसाबले निक्कै संवेदनशील स्थान हो । उनीसँगका केही भेटमा सुनेका अनुभवलाई आधार मान्ने हो भने पञ्चायतकालिन अवस्थामा नै चितवन ७६ जिल्लाबासी रहेको स्थान भनिन्थ्यो । यसको अर्थ हो, हरेक प्रकारका विचारका मानिसको सगोलको उपस्थिति छ । त्यसमा कोही गतिला, निर्गतिला, आक्रामक सोच भएका, त्यो सोचलाई मलजल गर्नेलगायत सबै प्रकारका मानिसको बसोबास भएको जिल्ला हो ।

हालैका बर्षमा मात्र चितवनमा देखिएका राजनीति र गैर राजनीतिक भिड, अनि भएका कतिपय हिंसात्मक घटना त्यसका प्रमाण हुन् । चुनावी अवस्था, रंगशाला निर्माण, रवि लामिछाने प्रकरण र शनिबार भएको ज्ञानेन्द्र शाही माथिका आक्रमण यसका केही उदाहरण हुन् ।

चितवनका राजनीतिक आड, गैर राजनीतिक आडमा हुने अनेक कथ्य छन् । द्वन्द्वकालको बाँदरमुढे घटना होस् अथवा विभिन्न गुन्डा समूहका आक्रमणका प्रकरण हुन् यसबाट चितवन अलग हुनै सक्तैन । यसर्थ, जसलाई जुनसुकै जोखिम हुन सक्ने परिघटनाका परिदृश्यहरू हाम्रा नजरसामु नै थिए र छन् ।

देशका गृहमन्त्री रामबहादुर थापा बादल, सत्तारुढ पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जोडिन्छ । त्यहाँ हुने अनेक साना घटना र परिघटनाले सिधा संघीय सरकार र सत्तारुढ नेकपा हल्लिनु अस्वभाविक ठान्नु हुन्न

ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणको सन्दर्भले उठाउने प्रश्न, सत्ता र सत्ताधारी पार्टीका कार्यकर्तासहितलाई पर्न सक्ने नोक्सानका विषयमा चर्चा गरौं । प्रविधि र सूचनाको तिव्रताका हिसाबले निमेषभरमा अनेक प्रकारका घटना विश्वसामु एकसाथ हेर्न, सुन्न र पढ्न सकिने पहुँच छ । यसले दोषी र निर्दोषको धारणा बनाउनका लागि आम मानिसलाई सजिलो बनाउँछ ।

विनोद ढकाल

शाहीमाथि भएको आक्रमण निन्दनीय छ । यसमा जसको संलग्नता भए पनि जोखिम निम्त्याउने काम भएको छ । राज्यको दायित्वभित्र पर्ने सुरक्षाको विषयमा सम्बन्धित निकायले जोखिम मुल्यांकनमात्र होइन, शाही स्वयम्लाई पनि जोखिम थियो भन्ने बुझ्नुपर्छ । एउटै अभियानमा पुगेका नेपालका लागि नेपालीका सुरेन्द्र भण्डारीलगायतमाथि आक्रमण नहुनु र शाहीमाथि मात्र हुनुका कारण र दोष खुट्याउन पनि आवश्यक हुन्छ ।

तर सतहको तस्बिर, भिडियो र दृश्यले जे देखिन्छ त्यसले आम साधारणको ध्यान राज्यको कमजोरीतिर नै तान्छ । वास्तवमा राज्य कमजोर देखिएको हो, हिजो र आज पनि ।

राजनीति गर्ने र राजनीति चेत भएका व्यक्तिले हिंसात्मक आक्रमणको पाटोलाई अलग राख्नुपर्छ । यसको घाटा अहिलेको परिवेश र व्यवस्थामा सोझै पर्छ । सत्ता सामान्य अवस्थामा पनि आलोचित हुन्छ । सत्ताधारी पार्टीको आलोचना हुन्छ ।  लोकतन्त्रको सुन्दरता पनि त्यहि हो । नागरिकले भ्रष्टाचारको विषयमा आलोचना गर्छ, भए या नभएको भन्ने विषयको खण्डन या प्रमाणचाहिँ सत्ताले अगाडि सार्नुपर्छ, जनतासामु प्रस्ट बनाउनुपर्छ ।

अभिव्यक्तिबाट आएका आरोपको खण्डन अभिव्यक्ति नै हुनुपर्छ । त्यसैले बोल्न पाउने स्वतन्त्रताको अभिलेख संविधानको खोस्टोभित्र राखिएको हो । त्यो खोस्टो मुलुक चलाउने संशाधनको मूल मन्त्र हो भन्ने विषय सबैले हेक्का राख्नुपर्छ ।

आम मानिस संविधान मान्न तयार छ । तर व्यवस्थाको जिम्मेवारीमा बसेका मानिसले गरेको दुरुपयोग कदाचित मान्न तयार छैन, बाध्य पारिनु पनि हुन्न । सरकारले कुन गतिमा कसरी काम गरेको छ त्यो सरकारले नै जानकारी दिन सक्ला तर त्यो व्यवाहारमा जनताले खासगरी भुँई मान्छेले महशुस हुनेगरी काम गरेको देखिनुपर्छ । त्यसबेला पनि सत्ताधारीलाई प्रश्न उठ्छ त्यसको जवाफ उसले काम गरेर देखाउने हो, आम मानिसको विश्वासको कसीमा देखाउने हो । र, त्यस दलका कार्यकर्ताले पनि सोही शैलीमा देखाउन सक्नुपर्छ ।

चितवनमा हुने घटनासँग अहिलेको सरकार सिधा जोडिन्छ । त्यहाँ हुने अनेक प्रकरणमा प्रस्टसँग जोडिन्छ । त्यो जिल्ला देशका गृहमन्त्री रामबहादुर थापा बादल, सत्तारुढ पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जोडिन्छ । त्यहाँ हुने अनेक साना घटना र परिघटनाले सिधा संघीय सरकार र सत्तारुढ नेकपा हल्लिनु अस्वभाविक ठान्नु हुन्न । त्यसकारण चितवनमा हुने हरप्रकारका जोखिमसँग सत्ताले नजरअन्दाज गरिदियो भने, चुनावमा जनताले गरेको विश्वासको अपमान हुनेछ । त्यो विश्वास र मत पनि आगामी दिनमा जोखिममा नपर्ला भन्न सकिन्न ।

भिडमा उभिने आत्मरती

सामाजिक सञ्जालमा भाषाको गरिमा र सभ्यता भुलेर चितवन महानगरकी मेयर दाहाल, मन्त्रीदेखि नेकपाका आम कार्यकर्तालाई घोचपेच गरी चुनौति भएकै ठाउँमा कार्यक्रम राख्नु भनेको सम्भावित भिडन्तलाई निम्तो दिनु थियो । शाही चितवन जान हुने थिएन भन्ने होइन, अहिल्यै उनको तिव्र आलोचना र विवाद भएका बेला उनको जीउधनमा जोखिम थियो भन्ने त सामाजिक सञ्जालका चेतावनीले नै खुलस्त पारेका थिए

ज्ञानेन्द्र शाही यसै पनि विवादीत पात्र हुन् । सामाजिक सञ्जालमा उनको समर्थन र विरोध उही प्रकारले मात्र छैन, हरेक ठाउँमा हुने अभियानमा उनीमाथि आक्रमण भएका तथ्य छन् ।

उनका गतिविधि, उनले उठाएका प्रश्न जायज छन् कतिपय तर शैली जायज देखिँदै यसकारण आक्रमणको केन्द्रमा परेको देखिन्छ । उनलाई भिडमा उभिने आत्मरतीले छिचोलेको छ । पश्चिम नेपालमा अभियानका क्रममा भएको हुलदुंगामा घाइते भए, नेपालगञ्जबाट फर्किने क्रममा मन्त्री योगेश भट्टराईको हुर्मत लिने चेष्टा गरे । त्यसको भोलीपल्ट काठमाडौंमा नै उनीमाथि आक्रमणको प्रयास भएको थियो ।

एउटा भिड शाहीविरुद्ध सक्रिय हुँदा उनी अझ आवेग र उत्तेजना बढाउने काममा लागि परे । अहिले आक्रमणपछि उनले हतारमा सरोकार भएका या नभएका, देखिएका या नदेखिएका पात्रको नाम लिएका छन् । रेणु दाहाल, योगेश भट्टराईको संलग्नतामा आफूमाथि आक्रमण भएको उनको स्टेटमेन्ट छ ।

सामाजिक सञ्जालमा भाषाको गरिमा र सभ्यता भुलेर चितवन महानगरकी मेयर दाहाल, मन्त्रीदेखि नेकपाका आम कार्यकर्तालाई घोचपेच गरी चुनौति भएकै ठाउँमा कार्यक्रम राख्नु भनेको सम्भावित भिडन्तलाई निम्तो दिनु थियो । शाही चितवन जान हुने थिएन भन्ने होइन, अहिल्यै उनको तिव्र आलोचना र विवाद भएका बेला उनको जीउधनमा जोखिम थियो भन्ने त सामाजिक सञ्जालका चेतावनीले नै खुलस्त पारेका थिए ।

यतिमात्र होइन, उनलाई कतिपय जिल्ला प्रवेशमा निषेधका चेतावनी आएका बेला शाहीले माहौल र भिडलाई बुझेका थिएनन् । नेपालमा दुईखाले भिड छ र त्यो भिड कसैबाट निर्देशित हुन पनि सक्छ, नहुन पनि सक्छ । तर, यस्ता भिडले एकअर्कामा मुठभेडको अवस्था निम्त्याउन सत्ता र शाही जस्ता स्वघोषित अभियानकर्मीको भूमिका प्रभावकारी देखिन्छ ।

नागरिक समाजभन्दा अलग रहेर अभियान चलाउने शाहीहरूमाथि व्यवस्थाविरोधी नै भएको तिव्र आरोप लागिरहेका बेला यी विवादबाट मुक्ति पाउने र प्रष्टीकरण गर्नु पनि दायित्व हुने थियो । तर, त्यसो नगरी सत्ताविरोधी अभियानमा शव्दको गरिमा समेत नराख्ने प्रवित्ति हावी भयो । समाजको बनोट सभ्यताका साथ भयो भने त्यसले बुझ्न सक्छ अभियान । अन्यथा पार्टीवादी जत्था र त्यसविरोधी अर्को कित्ताको भिडन्त देखिनु स्वभाविक जस्तो हुन जान्छ । समाजका यी दुईखाले अतिवाद आतंकको छायाँबाट समाज अलग हुन सक्तैन । अहिलेको अनिवार्यता कुनै पनि प्रकारको हिंसाको मनोभाव, बैरभावबाट समाजलाई अलग राख्नुपर्ने हो । भ्रष्टाचारशुन्य सरकारका निकाय बनाउनु पनि हो । नकी एकले अर्कामाथि सांघातिक आक्रमण गर्नु हो ।

प्रतिक्रिया
सम्बन्धित