१५ कार्तिक २०८३, आइतबार

कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ४ असोज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गरिनुपर्ने बताउनुभएको छ ।

आज ललितपुरमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २६औँ वार्षिकोत्सव समारोहमा उहाँले एकद्वार प्रणालीबाट क्षमता अभिवृद्धिका कार्यक्रम गर्दा एकरुपता हुने बताउनुभयो ।

“एकद्वारा प्रणालीबाट तालीम दिँदा तालीममा दोहोरोपना हुँदैन”, उहाँले भन्नुभयो, “त्यसैले अब खरिदारदेखि सहसचिवसम्म एकद्वार प्रणालीबाट क्षमता विकाससम्बन्धी तालीम दिने तयारीमा रहेका छौँ ।”

उहाँले लोकसेवा पास गरेर मात्र कर्मचारी सेवा प्रवाहमा पूर्ण दक्ष नहुने भन्दै तालीमप्रदायक संस्थाले तालीम दिएमात्र कर्मचारी राष्ट्र र जनताप्रति पूर्ण समर्पित हुने बताउनुभयो ।

उहाँले स्थानीय तहको कामप्रति सङ्घले हस्तक्षेप नगर्ने उल्लेख गर्दै जनतालाई सरकारको अनुभूति स्थानीय तहले उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो ।

मन्त्री पण्डितले प्रतिष्ठानले जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासमा पुर्याएको योगदानको चर्चा गर्दै मुलुकको बद्लिँदो परिस्थितिअनुसार प्रतिष्ठान उत्कृष्ट व्यावसायिक र प्रतिस्पर्धी संस्था बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले प्रतिष्ठानसँग सहकार्य गरेर कर्मचारीको क्षमताको विकास गर्न आयोग सधैँ तत्पर रहेको बताउनुभयो ।

प्रशासक काशीराज दाहालले कर्मचारीले तालीममा सिकेका कुरा जनताको सेवामा काम गर्दा व्यवहारमा उतारेमात्र वास्तविक सिकाइको उपलब्धि हासिल गरेको भन्न सकिने बताउनुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठले तालीमलाई समय परिस्थितिअनुसार परिमार्जन गरिने उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा कर्मचारीलाई तालीम मात्र नभई राष्ट्रिय महत्वका बारेमा जानकारी गराई राष्ट्र र जनताप्रति प्रतिबद्ध बनाइने बताउनुभयो ।

प्रतिष्ठानका प्रशिक्षक तथा अनुसन्धान अधिकृत दीपक थापाले आर्थिक वर्ष २०७५/०७६ सम्म २१६ तालीममा करीब सात हजार ९४४ कर्मचारीलाई प्रशिक्षण दिइसकेको जानकारी गराउनुभयो । उहाँका अनुसार यसै आवदेखि १४७ विभिन्न तालीमको प्रस्ताव गरिएको छ । –रासस