१५ कार्तिक २०८३, आइतबार

संविधान दिवसको अवसरमा अपाङ्गता परिचयपत्र वितरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जुम्ला, ३ असोज । संविधान दिवसको अवसरमा यहाँको तिला गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण शुरु गरेको छ । तिला गाउँपालिकाले संविधानले दिएको अधिकार स्थानीय तहमा प्रयोग गर्दै जुम्लामा पहिलो पटक स्थानीय तहबाट परिचयपत्र वितरण गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष तथा परिचयपत्र समन्वय समितिका संयोजक विष्णुमाया बुढा र प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपालीले दिवसको औपचारिक कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेपछि अपाङ्गता भएका व्यक्ति खुशी भएका छन् ।

उपाध्यक्ष बुढाले बहु अपाङ्गता भएका बालक तिला गाउँपालिका–१ का गणेश रोकायालाई रातो (क वर्गको) परिचयपत्र विरतण गरेर स्थानीय तहबाट अपाङ्गता परिचयपत्र वितरण कार्य शुरु गर्नुभएको हो ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत नेपालीले निलो अतिअशक्त दृष्टिविहीन अपाङ्गता भएका महिला तिला गाउँपालिका–२ की विशकली रोकायालाई हस्तान्तरण गर्नुभयो ।

परिचयत्रपत्र निर्दे्शिका अनुसार प्रमुख प्रशासकीय अधिकृतलाई हरिश्चन्द्र नेपालीले हस्ताक्षर गरेका हुन् । सङ्घीयता पछि महिला तथा बालबालिका कार्यालय खारेज भएपछि परिचयपत्र जुम्लामा रोकिएको थियो । तिला गाउँपालिका भने स्थानीय तहबाट परिचयपत्र उपलब्ध गराउने जुम्लाको पहिलो गाउँपालिका भएकाले परिचयपत्रबाट हुने सेवा सुविधाको बाटो खुलेको छ ।

अपाङ्गता भएका व्यक्ति रोकायाका अभिभावक लालबहादुर रोकायाले परिचयपत्रका लागि बजार धाउनुपर्ने दुःख गर्नु नपरेको र अब घरमै परिचयपत्र पाएकाले खुशी व्यक्त गर्नुभयो ।

संविधाननै विपन्न वर्ग र क्षेत्रको प्राथमिकतामा जन्मेकाले संविधान दिवसको अवसरमा परिचयपत्र वितरण शुरु गरिएको उपाध्यक्ष बुढाले बताउनुभयो ।

उहाँले वडा वडामा घुम्ती शिविर राखेर परिचयपत्र उपलब्ध गराउने बताउनुभयो । सरकारले अहिले अपाङ्गता भएका व्यक्तिलाई शिक्षा निःशुल्क, स्वास्थ्य र रोजगारीमा पनि छुट दिने गरेको छ ।

संविधान दिवसको उत्साह भने शहर क्षेत्रसँगै गाउँमा उत्तिकै बढेको छ । तिला गाउँपालिकाले दिवसको अवसरमा अपाङ्गता परिचयपत्र वितरणसहित र्‍यालीसहित विभिन्न औपचारिक कार्यक्रम गरेको हो ।

जनप्रतिनिधि र कर्मचारी भलिबल, कुर्चीखेल, दौड र नाचगानसहितको उत्साहपूर्वक संविधान दिवस मनाइएको छ ।

यहाँको तातोपानी गाउँपालिकाले सरसफाइ, देउडामार्फत संविधानको प्रचारप्रसार गरेको अध्यक्ष नवराज रावलले बताउनुभयो ।

हिमा गाउँपालिकाले सररसफाइसहित दीप प्रज्वलन गरेर संविधान दिवसको उत्सव मनाएको छ । यसैगरी विभिन्न पालिका र वडापालिकाले संविधान दिवस खुशियाली साथ मनाएका छन् । –रासस