बिहीबार, ७ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, ७ कार्तिक २०७६

बीएस्सी चौथो वर्षमा नेपाल प्रथम अमृता शिवराजकै सान बनिन्

अमृतालाई सम्मान थाप्नमै भ्याई नभ्याई, शिवराज १ ले गर्‍यो सम्मान

दैनिक नेपाल २०७६ असोज १ गते १८:५२


कपिलवस्तु, १ असोज । कपिलवस्तु शिवराज नगरपालिका १, शिवपुरकी अमृता अधिकारी बी.एस्सी. चौथो वर्षमा सर्वोत्कृष्ट नतिजा ल्याई नेपाल प्रथम भएकी छन् ।

ढुण्डीराज अधिकारी र राधा अधिकारीकी कोखबाट २०५३ साल भदौ २८ गते जन्मिएकी अमृता सानैदेखि निकै मिहिनेती थिइन् । जसको परिणाम उनको शैक्षिक सफलताले अहिले शिवराजकै सान बढेको छ ।

रुपन्देही जिल्लाको ड्राइभरटोलस्थित न्यू होराइजन कलेजमा अध्ययनरत अमृताले गत २०७६ भदौ २३ गते प्रकाशित बी.एस्सी. चौथो वर्षको नतिजामा ८२.२० प्रतिशत अंक ल्याई नेपालमै प्रथम हुन सफल भएकी हुन् ।

शिवराज ५, चन्द्रौटास्थित फफुरी इंगलिस बोर्डिङ स्कूलमा शैक्षिक पूर्वाधारको जग बसालेकी अमृताले कक्षा २ सम्मको अध्ययन पूरा गरिन् । कक्षा ३ देखि न्यू होराइजनमै भर्ना भई अध्ययन शुरु गरेकी अमृता सानैदेखि हुने विरुवाको चिल्लो पात जस्तै लगनशिल र मिहिनेती थिइन् ।

जसको परिणाम उनी सधैं विद्यालयमा उत्कृष्ट नतिजा ल्याई स्तरोन्नति हुँदै गइन् । उनले एस.ई.ई. परीक्षामा ८० प्रतिशत सहित स्कूलमै उत्कृष्ट भएको अमृताका बुवा ढुण्डीराज अधिकारी बताउँछन् । उनी सोही विद्यालयमा विज्ञान संकायतर्फ कक्षा ११ र १२ मा समेत विद्यालय उत्कृष्ट भएकी थिइन् ।

कक्षा १२ को अध्ययन पूरा गरेपछि उनी पुनः त्यही विद्यालयमा विज्ञान संकायतर्फ स्नातक भर्ना भएकी हुन् । पढाइमा निक्कै अब्बल अमृता बी.एस्सी. पहिलो वर्षमै ७३ प्रशिशत ल्याउन सफल भइन् ।

दोस्रो वर्षमा ७४ प्रतिशत र तेस्रो वर्षमा ७४.८० प्रतिशत ल्याउन सफल अमृताको कडा मिहिनेत र परिश्रमले चौथो वर्षमा ८२.२० प्रतिशत पुग्यो । उनको सर्बोत्कृष्ट नतिजाले उनलाई नेपालमै प्रथम स्थानमा उभ्याउन सफल भएको हो ।

अमृताको सफलताले अहिले उनको घरपरिवार, वडाबासीका साथै सिंगो शिवराज नगरपालिकामा खुशियाली छाएको छ । यतिबेला उनलाई सम्मान थाप्नमै भ्याई नभ्याई छ ।

सरकारीदेखि गैरसरकारी विभिन्न निकाय, संघसंस्थाले उनलाई हौसला बढाउन सम्मान गर्दै आएका छन् । रेडियो भ्वाइस, सामाजिक विकास मञ्चबाट उनी सम्मानित भइसकेकी छन् ।

यसैबीच शिवराज नगरपालिका वडा नं. १ ले अमृतालाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । उनको कडा मिहिनेत र परिश्रमले शैक्षिक क्षेत्रमा वडाकै सान बढाउन सफल भएकोमा थप हौसला बढाउन सम्मान गरिएको वडाध्यक्ष जगतबहादुर जि.सी.ले बताए ।

“सबैथोक रुपैयाँ पैसा मात्र भएर हुँदैन, मनमा अठोट, विश्वास र परिश्रम भए सफलता हासिल गर्न सकिन्छ” –वडाध्यक्ष जि.सी.ले भने । जीवनमा सधैं सम्मान, मान र इमान् बढोस् भन्दै सम्मान गर्दै वडाध्यक्ष जि.सी.ले बधाई तथा शुभकामना दिए ।

शिक्षाले नै समाजको विकास र परिवर्तन गर्न सकिने समाजसेवी एवं नेकपा शिवराज १, वडा कमिटी अध्यक्ष विक्रम के.सी.ले बताए । हरेक दृष्टिकोणले जिल्लाकै पछाडि पारिएको क्षेत्रबाट शिक्षामा अब्बल नतिजा ल्याउन सफल भएकोमा कुनै पनि दृष्टिकोणले यो पछाडि नभएको अमृताको नतिजाले साबित गरेको के.सी.ले बताए ।

सम्मान कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी हमालले अमृता जस्तो होनहार छोरीले सिंगो जिल्लाको मात्र नभई नेपालको नाम राख्न सफल भएकोमा गर्व महसुस भएको बताइन् । आगामी दिनमा योभन्दा सर्बोत्कृष्ट नतिजा प्राप्त गरी यस क्षेत्रकै गौरब बढाउन अघि बढ्नुपर्ने भन्दै उच्च शैक्षिक सफलताको शुभकामना दिइन् ।

यस्तै कार्यक्रममा सहभागी शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेल, ज्ञानज्योति आधारभूत विद्यालय उमरीका अध्यक्ष पुष्पराज अधिकारी, वडा सदस्यहरु टीका वि.क., भिखु थारु लगायतले शैक्षिक सफलताको शुभकामना दिएका थिए ।

सम्मान कार्यक्रममा बोल्दै अमृताका बुवा ढुण्डीराज अधिकारीले छोरीका साथै आफू पनि सम्मानित हुँदा थप प्रेरणा मिलेको बताएका छन् ।

छोरी छोरी मनोभावना बुझी सधैं साथित्वको भावना राख्दै अध्ययनमा हौसला दिंदै आएको उनले बताए । छोरा छोरीको भविष्य सुनिश्चित गर्न आफू सधैं कटिबद्ध भई लाग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित