सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

आईजी खनालको अर्को रणनीति : सीसीटिभी सुरक्षा प्रणाली

दैनिक नेपाल २०७६ असोज १ गते १५:०५

काठमाडौं, १ असोज । नेपाल प्रहरीका महानिरिक्षक (आईजी) सर्वेन्द्र खनालले सुरक्षा प्रणाली अझ बलियो बनाउनका लागि नयाँ नीति कार्यान्वयनमा जोड दिएका छन् ।

व्यवाहारिक र सुरक्षाका हिसाबले अत्यन्तै बलियो मानिने ‘सीसीटिभी सुरक्षा प्रणाली’लाई खनालले अगाडि सारेका हुन् । काठमाडौं उपत्यकामा मात्रै नभई देशैभर यो प्रणालीलाई अघि बढाउन उनको जोड छ ।

हालै मात्र विराटनगरमा भएको क्षेत्रीय सुरक्षा गोष्ठिमा आइजी खनालले यसैमा जोडि दिएका थिए । त्यसैको उपजमा बिराटनगर महानगरपालिकादेखि धरान उपमहानगरपालिकासम्म जोड्ने कोशी राजमार्गमा सीसीटिभी ठाउँ ठाउँमा जोडिएका छन् ।

‘यसले सडक सुरक्षाको विषय मात्र होइन, अपराधका विविध खोज र प्रमाणका लागि पनि प्रहरीलगायत सबैलाई सहयोग गर्छ’, खनाल भन्छन्,‘यसकारण यसलाई मैले सीसीटिभी सुरक्षा प्रणाली पनि भनेको हुँ ।’

समाजमा अपराध न्युनिकरणका लागि प्रहरी–समुदाय साझेदारी कार्यक्रमलाई प्रभावकारी ढंगले ७७ जिल्लामा नै विस्तार गर्न सफल आईजी खनाल हरेक जिल्लाका गाउँ र सहरमा सीसीटिभी जडान भए अपराध अनुसन्धानमा सहज हुने मात्र होइन, आपराधिक गतिविधिमा पनि कमी आउनेमा ढुक्क छन् ।

‘जब अनुसन्धान प्रभावकारी हुँदै जानेछ, अपराध गर्ने, घटना घटाउने व्यक्ति वा जोकोही पनि सचेत हुने भयो, यसले सामाजिक अपराधमा न्युनिकरण हुन्छ भन्ने मेरो विश्वास हो’, खनाल भन्छन् ।

काठमाडौंमा यो प्रणालीलाई प्रभावकारी बनाउँदै गएको प्रहरीले सात वटै प्रदेशका मुख्य सहर र करिडोरमा पहिलो चरणमा सीसीटिभी जडानको काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । त्यसैले पनि सुरक्षा गोष्ठिमा माथाहतका सबै कार्यालयदेखि प्रशासनिक निकायका प्रमुखहरूलाई यस प्रणालीको फाइदाका बारेमा बताइएको थियो ।

यसका लागि प्रहरीलाई स्थानीय तहका सरकारहरू, प्रदेश सरकार र संघीय सरकारले सहयोग गर्नुपर्ने अपेक्षा पनि राखिएको छ ।

‘सुरक्षाका लागि तीनै तहका सरकारको सहभागीता भए प्रहरीको काम प्रभावकारी ढंगले अघि बढ्न सक्छ, यसले प्रहरीलाई गतिशील बनाउने मात्र होइन सम्बन्धित स्थानीय, प्रदेश वा संघीय सरकारको सुरक्षा नीति अझ बलियो बनाउँछ भन्ने विश्वास हो’, खनाल थप्छन्,‘अनुसन्धान र सुरक्षाको हिसाबमा दक्षिण एसीयामा मात्रै होइन, विश्वमा नै नेपाल सरकार र माथाहतमा रहेको प्रहरीको काम उत्कृष्ट बन्नुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित