
चन्द्रौटा, ३१ भदौ । कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ क बाट निर्वाचित प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले रगतको अभावमा कसैको पनि अकालमै ज्यान जान नहुने जिकिर गरे ।
देशैभर डेङ्गु रोगको संक्रमण फैलिएको बेला रक्तदानले रगतको अभावमा छटपटाइरहेको विरामीलाई जीवनदान सावित हुने के.सी.ले विश्वास व्यक्त गरे ।
सामाजिक विकास मञ्च नेपाल कपिलवस्तुले शिवराज नगरपालिका ५ स्थित चन्द्रौटा हस्पिटल प्रा.लि.मा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रदेश सांसद के.सी.ले यस्तो बताएका हुन् । सांसद के.सी.ले अहिले डेगुको संक्रमणले देशैभर रगतको अभाव भइरहेको भन्दै यस्तै सामाजिक काम गर्न अन्य संघ संस्थालाई पनि आग्रह गरे ।
आयोजक संस्था सामाजिक विकास मंच नेपाल कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद खतिवडाले देशैभर खड्किएको रगतको अभावलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको बताए ।

शिवराज नगरपालिकाको सहयोग र रक्तसंचार सेवा केन्द्र वुटवलको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको मञ्चका अध्यक्ष खतिवडाले जनाए । कार्यक्रममा ६५ जनाले रक्तदान गरेका थिए । सामाजिक विकास मञ्चले हरेक वर्ष रक्तदान कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ ।
कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले रक्तदान कार्यक्रम आयोजना गर्ने सस्था सामाजिक विकास मञ्चलाई खुलेरै प्रशंसा गरे । रक्तदान दिंदैमा कसैको रगत नसकिने जनाउँदै थोपा रगतले पनि कसैको ज्यान बचाउन सकिने जिकिर गरे ।
शिवराज नगरपालिकाभित्र रहेका विभिन्न संघ सस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गरिरहेको जनाउँदै सवै क्षेत्रमा यस्ता सामाजिक कामहरु हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमकै अवसरमा सामाजिक विकास मंच नेपाल कपिलवस्तुले बी.एस.सी. चौथो वर्षमा नेपालमै उत्कृष्ट नतिजा ल्याउदै प्रथम हुन सफल भएकी शिवराज नगरपालिका १, शिवपुर निवासी अमृता अधिकारलाई सम्मान गरेको थियो ।
बुटवलको न्यू होराइजन कलेजमा अध्ययनरत अमृताले नेपाल प्रथम भई शिवराज नगरपालिकाकै नाम उच्च राख्न सफल भएकोमा नगरप्रमुख अधिकारीले उच्च शैक्षिक सफलताको शुभकामना दिए ।












प्रतिक्रिया