सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

‘ज्ञानेन्द्र’ लेख्दैमा ज्ञानबहादुर राजा बन्छन् र ?

विनोद ढकाल २०७६ भदौ ३१ गते ९:४९

-विनोद ढकाल

लोकतान्त्रिक आन्दोलनको विजय भएका बखत राजाप्रतिको द्वेश नागरिकमा अधिक थियो । कोही राजा नामका व्यक्तिलाई व्यंग्य हान्थे, कतिपयले आफ्ना सन्तान, प्रेमी वा पतिलाई मायाले लेघ्रो घसेर राजा पनि भन्न छाडेका थिए । त्यसैबेला तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले बेवी किङको कुरा गर्दा वात्सायनको एउटा कार्टुन कान्तिपुर दैनिकमा छापिएको थियो । जसले कोइरालाको तिव्र आलोचना गरेको थियो । कार्टुन थियोकोइरालाले राजतन्त्रको सिनो बोकेको ।

राजतन्त्रप्रति मानिसको सोच सकारात्मक थिएन । त्यसैले राजावादी कित्तामा उभिएको तत्कालिन राप्रपा नेपालले समानुपातिक मतका आधारमा संविधानसभा निर्वाचनमा पनि जम्मा चार सीट पाएको थियो । अर्थात्, ६ सय १ जनामा चार जनामात्र राजतन्त्र मान्नेको सगोलको मत आएको थियो ।

त्यतिखेर बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, ज्ञानेन्द्र शाहीहरू लुक्नुपर्ने अवस्था थियो । कसैको नाम निशान थिएन कतै । न मिडियामा न सोसियल मिडियामा न कुनै स्पेशमा । नागरिक समाज आफैं पनि गणतान्त्रिक मानकमा उभिएको थियो । एक अर्थमा मानौ देशै गणतन्त्रमय थियो । नेकपा माओवादीको शान्ति प्रक्रियाको उदय मात्र थिएन, संविधानसभामा जनमतको भारी र क्यान्टोनमेन्टमा हतियारसहितका सेना पनि थिए । नेपालको इतिहासमा अलग सैन्य संगठन विगठन नगरी प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति पुष्पकमल दाहाल प्रचण्ड नै हुन् । त्यो सामथ्र्यलाई संयुक्त राष्ट्र संघको खास मिशनले मात्र स्वीकारेको थिएन, तत्कालिन राजनीतिक दलदेखि अनेक क्षेत्रले पनि स्वीकार गरेकै थियो । चुइँक्क कोही बोल्नेवाला थिएन ।

सृजनात्मक, कलात्मक लय र जवाफ दिने तरिका छैन । अरुलाई गाली गर्ने राजनीतिले स्थापित भएको बेथितिको निराकरण वा विकल्पको विषय शाहीको जस्तो थिति नभएको भाषाले उँभो लाग्दैन, मलजल हुँदैन । बरु, अलिकति आशा पलाएको विकल्पप्रति नै घृणा जाग्न सक्छ

समय, काल परिस्थितिले राजनीति धुमिल हुने क्रम र नेता वैचारिक भन्दा नैतिक विचलन, आर्थिक विचलनको बाटोतिर लम्किँदा अनेक किसिमका परिघटना भए । तर दुर्घटना भएन । संविधानसभा भंग भयो, कुनै शक्तिशाली फोर्सको सत्तामा दृष्टि लगाउन सकेन । अर्को संविधानसभाको निर्वाचन हुँदै देश स्थायी राजनीतिक परिवर्तनको संघारमा पुग्यो । नाकाबन्दिलगायतका अनेक प्रकारका घटनाक्रम पनि भए । तैपनि मुलुकको गति रोकिएन । बरु, नेताको मति विग्रियो होला ।

स्थानीय तहको निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभाको पनि गठन भएपछि राजनीतिक व्यवस्था एउटा विन्दुमा पुग्यो । संक्रमणकालको आधा समस्या समाधान हुँदै गर्दा त्यसले स्थापित गर्न खोजेको स्थायी सत्ताविरुद्ध सत्ताधारीका गल्ती कमजोरीले पारेको प्वालबाट अनेक व्यक्ति निस्कन थाले । यो छुट, यो स्वतन्त्रता, यो अवस्था यहि स्थापित हुँदै गरेको गणतन्त्रमा न्यौपाने, भण्डारी अथवा शाहीहरूले पनि पाए आम नागरिकले पाए जस्तो । यो छुट हामीलाई पनि भयो ।

व्यवस्था खराब हुँदैन, व्यक्ति खराब हुन सक्छ । यो मैले पहिलादेखि नै भन्दै आएको, लेख्दै आएको विषय हो । यो व्यवस्थामा राजनीतिक दलका नाममा अनेक हिसाबले व्यक्ति हावी पक्कै भएका छन् । तिनको चरित्रविरुद्ध उभिन पाउनु नेपाली नागरिकको हक र अधिकारको विषय पक्कै हो । तर, त्यसैको आडमा व्यवस्था नै खराब भनी आत्मरतीको विन्दुमा उभिनुचाहिँ अभियान होइन । हो, हाम्रो मुलुकको निर्वाचन प्रणाली खराब हुन सक्छ त्यसलाई सुधार गर्नका लागि कम्तिमा भ्रष्ट नै भए पनि हामीले निर्वाचित गराएकाहरूले संविधानको खोस्टो त पारित गरेका छन् । जसको केही दिनमा दिवसका रुपमा नै उत्सव मनाउने तयारी भएको छ ।

यहि सन्दर्भमा अहिले चर्चामा रहेको एउटा पाटोमाथि बहस गर्न आवश्यक ठहर्दछ । विकल्प खुला छन् । कतिपयले राजनीति र नेता छान्दा मम चाउमिन रोजेको भनी दल दर्ता गरेर अघि बढे । तिनको राजनीतिक कर्म उदण्डता, उरन्ठ्यौला गतिमा छ त ? उनीहरू जनतासम्म पुग्न र सुसंस्कृति राजनीति गर्ने लय समात्न खोजीरहेका छन् । तर नागरिक समाज र अगुवामात्र होइन, सञ्चारकर्मीका नाममा समेत व्यवस्था माथि नै हमला गर्नु कहाँसम्मको न्यायीक मार्ग हो ? यसैमा अचम्मित, आश्चर्यचकित भइन्छ ।

यसैको शीलशीलामा ज्ञानेन्द्र शाही प्रकरण एउटा गतिलो नमूना हो । मन्त्री योगेश भट्टराईले विमान ढिलो गराएर गल्ती गरेका हुन् । त्यो गल्ती गरेको विषयमा चर्चा हुनु अस्वभाविक बनि होइन । तर, मन्त्रीको हुर्मत लिएर सामाजिक सञ्जालमा मन्त्रीलाई रामधुलाई गरियो भनेर लेख्ने आत्मरतीसँग सती जान सकिन्छ त ? गल्ती देखाउने शालिना, भद्रता, त्यसको तर्कशील पाटो हुन्छ । मन्त्री गल्ती मानिरहेका छन् त्यसको सजाय नागरिकस्तरबाट होला पनि । तर, अझ पत्रकार सम्मेलन गरेर बिग इश्यु बनाउने दुश्साहस, त्यतिमात्र पनि होइन, सवालजवाफमा ठाडो ठाडो उत्तर । प्रश्नको उत्तर प्रतिप्रश्न गरेर दुनियाँलाई आफूमात्र ठिक, अरु बेवकुफ भनी देखाउन खोज्नुको तुक के हुन्छ र ?

ज्ञानेन्द्र शाहीलाई न चिन्दछु न चिन्नु नै छ । युट्युवदेखि अनेक ठाउँमा उनका अन्तरवार्तामा अपडेट पनि छु । उनीसँग कुनै तथ्यांक, कागज र प्रमाणका कुनै चिर्कटो पनि हुँदैन । आवेगपूर्ण अभिव्यक्ति छ, भाषा छैन । शैली छैन । सृजनात्मक, कलात्मक लय र जवाफ दिने तरिका छैन । अरुलाई गाली गर्ने राजनीतिले स्थापित भएको बेथितिको निराकरण वा विकल्पको विषय शाहीको जस्तो थिति नभएको भाषाले उँभो लाग्दैन, मलजल हुँदैन । बरु, अलिकति आशा पलाएको विकल्पप्रति नै घृणा जाग्न सक्छ । यसर्थ, शाही फेसबुक, ट्वीटर अथवा युट्युवमा चल्न सक्लान् यो भाषाले नेपालको व्यवस्था र राजनीतिक मनोदशा बन्नेबला छैन । नागरिक अगुवा वा सामाजिक अभियन्ताको भाषा यति क्रुर, स्खलित र हैसियतहिन छन् की, भिँडमा आफू उदाउने मनोविज्ञान भन्दा केही पनि भेटिँदैन । शाही उदाउन सक्लान् यीनको वैचारिक, सामाजिक हैसियतको स्खलन पनि सोही शैलीमा खहरे जसरी नै हुन सक्छ ।

दुनियाँमा सरकार गठन भएपछि विधिअनुसार ५ बर्ष चल्न दिने प्रावधान छ । लोकप्रियता वा अलोकप्रियताको जगमा सरकार उभिन सक्ला । उसका गल्ती कमजोरीको खबरदारी पनि गर्न पाइन्छ । तर, भर्खरै स्थापित हुन खोजेको व्यवस्थाकै घाँटी निमोठ्नका लागि व्यक्तिका चरित्र हत्या गर्दै सभा र सम्मेलन गर्ने कथित विद्वान भनेका प्रायोजित भन्दा अर्को अर्थमा बुझ्न सकिँदैन । न्यायीक विषयमा बोल्दा कुनै पनि आम नागरिक, कार्यकर्ता वा कसैले आक्रमण गर्र्दैन । भीडमा उभिएर अरुको हुर्मत लिँदा हुने हुलहुज्जतप्रति सचेत नहुने नागरिक अगुवा हुँदैन । हुलहुज्जतमा अरु नपर्ने शाही मात्र किन पर्ने ? अरु सामाजिक अभियन्ता छैनन् ?

हातमा डिग्रिको प्रमाणपत्र बोक्ने, विद्वान भन्ने र दिमागमा गोबर भरिएको विचार घृणा बनाएर फैलाउनेबारे बुझ्नुपर्छकि तिम्रो प्रमाणपत्र नक्कली हो, कि तिम्रो अभियान नक्कली हो

दरबारको विरासत र इज्जतलाई रद्दीको टोकरीमा पु¥याउँदा पनि पूर्वयुवराज पारस शाहमाथि कुनै अभद्र व्यवाहार भएको छैन । उनी नागरिकसरह हिँड्न डुल्न पाएका छन् । पूर्वराजा वा परिवारका अन्य सदस्यलाई पनि भएको छैन । यसैले उनीहरूको विशिष्टताको साख पनि बाँचिरहेको छ ।

यो पृष्ठभूमीलाई जोड्नु यहाँ उक्ति होला, शाहीका लागि । राजा ज्ञानेन्द्र र ज्ञानेन्द्र नाम राखेका ज्ञानबहादुर शाहीमा धेरै फरक छ । दुई सय ४० बर्षको विरासत मात्र होइन, प्रजातन्त्र, पञ्चायत, प्रजातन्त्र, राजतन्त्र सबैको मुख्य चालक भएर हिँडेका राजा ज्ञानेन्द्रलाई नागरिकको आवश्यकता, अपरिहार्यता र मनोविज्ञान प्रस्ट जानकारी छ । तर नागरिकमा द्वेष, रिस, आवेग र त्यो भिँडमा आफ्नो औचित्य खोज्ने ज्ञानबहादुरहरू प्रविधिको बलमा उचालिएका उल्लूहरू हुन् । जो, अँध्यारोमा मात्रै बर्बराउन जानेका भेटिन्छन् । अहिले राजनीतिक अवस्था अन्धकार जस्तो भएका बेला बर्बराएका हुन् । यीनिहरू सपनाबाट झल्यास्स हुँदा चेतमा आउनेछन् अनि ठान्नेछन्– ‘ज्ञानेन्द्र नाम लेख्दैमा राजा हुन सकिँदो रहेनछ । राजा हुनका लागि त राजनीति र व्यवस्थाका प्रत्येक घामपानी सहनुपर्ने रहेछ !

सत्तासँग नागरिक जहिल्यै असन्तुष्ट भएको नेपालको इतिहास नै छ । तर व्यवस्थासँग वाक्कदिक्क भएको छैन, क्षािणक कालमा । भ्रष्टाचार प्रजातन्त्रको पयार्य जस्तो बनिदियो, गणतन्त्रमा पनि त्यसका ठूलो उदाहरणले असन्तुष्टि बढाएको छ । यी असन्तुष्टिलाई सार्वजनिक फोरममा उठाएर नागरिक मत जित्ने कोशीश गर्नु नागरिक अगुवाको दायित्व हुन्छ । किनभने, नागरिकले ५ बर्षपछि रोज्ने विकल्पका लागि व्यक्ति, परम्परागतबाहेकका दल र विचार पनि संस्थागत भइसकेका छन् । सुसंस्कृत समाजको परिकल्पना गर्दा अरुको हुर्मत लिने भन्दा पनि इज्जत दिएर नागरिकको मन जित्ने काम सृजनात्मक अभियान हुनसक्छ । अन्यथा हातमा डिग्रिको प्रमाणपत्र बोक्ने, विद्वान भन्ने र दिमागमा गोबर भरिएको विचार घृणा बनाएर फैलाउनेबारे बुझ्नुपर्छकि तिम्रो प्रमाणपत्र नक्कली हो, कि तिम्रो अभियान नक्कली हो । सक्कली हुन नागरिकमैत्री भाषा र विवेचना हुनुपर्छ । जुन आम मानिसबीच स्वस्थ्य हिसाबले बहस पैरवी गरि निर्वाचन प्रणालीमार्फत आजको राजनीतिक कुसंस्कार फ्याँक्नुपर्ने निर्णय होस् ।

प्रतिक्रिया
सम्बन्धित