१२ मंसिर २०८३, शनिबार

पहिराेले घर पुरिँदा ६ जनाको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

रोल्पा, २७ भदौ । बिहीबार राति पहिरोले घर पुर्दा ६ जनाको मृत्यु भएको छ । सहिदमार्गअन्तर्गत घर्तीगाउ–थबाङ सडक खण्डको छेर्लोबाङमा पहिरो खस्दा सो घटना भएको हो ।

मृत्यु हुनेमा थबाङ गाउँपालिका २ छेर्लोबाङस्थित शीरकुमारी बुढामगरको घर पहिरोले पुर्दा २८ वर्षकी शीरकुमारी र उनका छोरा ४ वर्षका असललगायत ६ जना पुरिए ।

प्रहरीले बिहान र दिउँसो उद्धार गरेर ६ जनाको शव फेला पारेको थियो ।

दुई दिनदेखिको भारी वर्षासँगै निर्माणाधीन सहिदमार्गबाट पहिरो खसेर घर पुरेको थियो । बिहीबार दिउँसैबाट भारी वर्षा भइरहेपछि पहिरो खस्ने आशंकाले स्थानीयमा थियो ।

ढुंगा र काठको छाना भएको दुई तले घरको माथिल्लो तलामा रहेका शीरकुमारी र उनका छोरा सुतेका थिए भने आश्रय लिई तल्लो तलामा छिमेकी बास बसेका थिए । स्थानीयका अनुसार सहिदमार्ग निर्माणको जिम्मा लिएका ठेकेदार र कार्यालयको लापरवाहीले घरमाथि पहिरो खसेको हो ।

गाउँपालिकाले प्रति मृतकका परिवारलाई २५ हजार खर्च दिन सकिने गाउँकार्यपालिकाबाट निर्णय गरिएको र चाँडै नै पीडितलाई खर्च दिन पहल सुरु हुने बताए । उद्धारका लागि जिल्ला प्रहरी कार्यालयसहित थबाङ, घर्तीगाउँ, कुरेली, मिरुल, इरिबाङ लगायतबाट प्रहरी घटनास्थल पुगेको थियो।

पुरिएको घरको तल्लो तलामा बास बसेकामा वर्ष ३६ का जय बुढामगर, पत्नी वर्ष ४० की मूलज्योति बुढामगर, छोरीहरु वर्ष १० की गृष्मा र डेढ वर्षकी अर्की छोरी थिए ।

वस्तुभाउ समेत पुरिएको छ । उद्धारकर्ताले केही गाई र गोरु मरेको अवस्थामा फेला पारेका छन् । बाटो निर्माण गर्दा अलिक सजगता अपनाएको भए घटना हुनबाट जोगिन सकिन्थ्यो भन्ने स्थानीयको भनाइ रहेको छ ।