१२ मंसिर २०८३, शनिबार

तनाबमा त्रिपाठी–गुप्ता, नेकपाभित्र दवाव सिर्जना गर्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वतन्त्र समूहले कार्यालय खोल्ने निर्णय गरेसँगै नयाँ राजनीतिक दलको जन्म हुने संकेत देखिएको छ ।

तत्कालीन एमालेको चुनाव चिन्ह ‘सूर्य’बाट प्रतिनिधि सभामा निर्वाचित हृदयश त्रिपाठी र बृजेशकुमार गुप्ताले आफूहरूको स्वतन्त्र समूहलाई संस्थागत रुपमा अगाडि बढाउने तयारी गरेका हुन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि स्वतन्त्र समूह निस्क्रिय थियो । नेकपामा स्वतन्त्र समूहले ठाउँ नपाएपछि संगठन बनाउनेदेखि कार्यालय स्थापनासम्म गर्ने निर्णय भएको छ ।

दुई वर्षयता पार्टी, संगठन र कार्यकर्ताबाट टाढिएका सांसद हृदयेश त्रिपाठीले पुनः आफ्नो राजनीतिक स्पेस खोजी गर्न थालेको चर्चा छ ।

स्वतन्त्र राजनीतिक समूहलाई सक्रिय बनाएर मुलुकभर पुग्ने र संगठन बनाउने तयारीमा उनी लागेका छन् ।

स्वतन्त्र समूहको बैठकबाट त्रिपाठीले काठमाडौंमा सम्पर्क कार्यालय र देशैभर जिल्ला कार्यालय तथा तदर्थ समिति बनाउने निर्णय गराएका छन् ।

समूहमा केन्द्रमा संयोजक बाहेकको अन्य पद छैन । समूहका संयोजक त्रिपाठी आफैं हुन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) छाडेपछि त्रिपाठी र गुप्ता कुनै राजनीतिक दलमा आबद्ध छैनन् ।

कार्यालयका लागि सिंहदरबार वरिपरि कोठा खोज्दै गरेका त्रिपाठीले सिंहदरबारभित्र बसेर आम मानिससँग जोडिन नसकिने बताउने गरेका छन् ।

सूर्य चिह्नबाट चुनाव लडेयता संसद् सचिवालयले उनलाई नेकपाको संसदीय दल परिसरमै एउटा कोठा उपलब्ध गराएको छ ।

त्रिपाठी तत्काल राजनीतिक दल खोल्ने अवस्थामा छैनन् । सूर्य चिह्नबाट चुनाव जितेकाले अर्को राजनीतिक दल प्रवेश गर्ने विकल्प पनि छैन ।

नयाँ दल खोले वा अन्य दलमा छिरे उनको सांसद पद धरापमा पर्नेछ ।

मधेसकै राजनीतिबाट पहिचान बनाएका त्रिपाठीले नेकपा प्रवेश सहज मानेका छैनन् ।