बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

गृहमन्त्री थापाका भाइ नरेशविरुद्ध मुद्दा दर्ता, बयान चल्दै

दैनिक नेपाल २०७६ भदौ २६ गते १३:५७

काठमाडौँ, २६ भदौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशकुमार थापासहित ८ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।

अवैध असुलीमा पक्राउ परी हिरासतमा रहेका उनीहरुमाथि सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरि काठमाडाैँ जिल्ला अदालतमा बुझाएको छ । जिल्ला अदालतले उनीहरुको बयान लिइरहेको छ।

जिल्ला अदालतको चार नम्बर इजलासमा न्यायाधीश मेदिनीप्रसाद पौडेलले प्रतिवादीहरूको बयान भइरहेको श्रेष्तेदार आनन्द श्रेष्ठले बताए । उनका अनुसार एक प्रतिवादी फरार छन् । प्रहरीले थापासहित ९ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

पक्राउ परेकामध्ये थापासहितका ८ प्रतिवादीलाई बयान लिने काम भइरहेको तर सबैको नसकिएको अदालत स्रोतले जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा अहिले प्रहरी हिरासतमा छन् । निर्माण व्यवसायी शरदकुमार गौचन हत्यामा जेलमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेत समूहसँग मिलेर ठेकेदारलाई धम्क्याएको आरोपमा प्रहरीले मुद्दा अघि बढाइपछि थापा आफैं प्रहरीको सम्पर्कमा आएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार नरेशले निर्माण व्यवसायीलाई फोन गरेर ‘पैसा नदिए जे पनि हुने’ भन्दै धम्की दिने गरेका थिए । उनीमाथि आपराधिक लाभ लिने प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित