बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

रवि लामिछानेका वकिलका कारण मुद्धाको सुनुवाई स्थगित

दैनिक नेपाल २०७६ भदौ २६ गते १३:१४

काठमाडौँ, २६ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतको आदेशविरुद्ध टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र उच्च सरकारी वकिलको कार्यालयले दिएको निवेदनमा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

रवि लामिछाने र पत्रकार युवराज कँडेलको तर्फका कानुन व्यवसायीको निवेदनका आधारमा उच्च अदालत पाटनको‚ हेटौँडा इजलासमा हुने सुनुवाइ स्थगित भएको हो । बिहान ११ बजे न्यायाधीश चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलाशमा मुद्दाको सुनवाइ हुने तय भएको थियो ।

तर, लामिछाने र कँडेलका तर्फबाट बहस पैरवी गरिरहेका कानुन व्यवसायीले स्थगन गर्न निवेदन दिएपछि सुनुवाइ स्थगित भएको उच्च अदालत पाटनको‚ हेटौँडा इजलासले जनाएको छ । अर्को पेशी आउँदो बिहीबारका लागि तोकिएको उच्च अदालतका रष्जिट्रार विकास श्रेष्ठले जानकारी दिए ।

चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा छुटेका प्रस्तोता लामिछाने र पत्रकार कँडेल आफूहरु साधारण तारिखमा रिहा हुनुपर्ने भन्दै जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्च अदालत पाटनको‚ हेटौँडा इजलासमा पुगेका थिए ।

त्यस्तै‚ धरौटीमा रिहा भएका लामिछाने र कँडेल तथा साधारण तारेखमा रिहा भएकी रुकु भनिने अस्मिता कार्कीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै चितवन जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले सोमबार अर्को निवेदन दिएको थियो ।

निवेदनमा मंगलबार सुनुवाइ गर्दै हेटौँडा इजलासले यसअघिको आदेशअनुसार जिल्ला अदालत चितवनको फाइल आइसकेकाले बिहीबारको पेशीमा दुवै फाइल पेश गर्न आदेश दिएको थियो ।

पत्रकार पुडासैनीलाई आत्महत्याको दुरुत्साहन आरोप लागेका लामिछाने पाँच लाख रुपैयाँ र कँडेललाई तीन लाख रुपैयाँ धरौटीमा चितवन जिल्ला अदालतले भदौ ९ गते रिहा गरेको थियो ।

यसअघि लामिछाने र कँडेलको निवेदनमा सुनुवाइ गर्दै पाटन उच्च अदालतको हेटौँडा इजलाशले चितवन जिल्ला अदालतबाट सक्कल फाइल मगाउने आदेश जारी गरेको थियो ।

निवेदनको प्रारम्भिक सुनुवाइको क्रममा मगाइएको प्रतिवेदन सोमवार उच्च अदालत हेटौँडामा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित