बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

कास्की–२ मा रवीन्द्र मिश्रको चर्चा किन ?

दैनिक नेपाल २०७६ भदौ २६ गते १२:०५

काठमाडौं, २६ भदौ । मंसिरमा उप निर्वाचनको तयारी भइरहेका बेला चर्चामा छ, दिवंगत नेकपा नेता रवीन्द्र अधिकारीले प्रतिनिधि सभाको निर्वाचनमा जीत निकालेको कास्की– २ ।

उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, सत्ताधारी नेकपाको दाबी रहनु स्वभाविक भए पनि साझा विवेकशीलका संयोजक रवीन्द्र मिश्रको नाम पनि चर्चामा ल्याउन थालिएको छ ।

नेकपाबाट उपाध्यक्ष बामदेव गौतम अथवा अधिकारीपत्नी विद्या भट्टराईको चर्चा चलिरहेका बेला मिश्रको चर्चा सतहमा ल्याइएको हो । निर्वाचन भएको यत्तिका समय वित्दा पनि सरकार र सदनको काम कारबाहीमा खासै तात्विक भिन्नता नआएका कारण विकल्पको नामबारे चर्चा चुलिएको कतिपय विश्लेषकले बताएका छन् ।

काठमाडौं–१ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका मिश्रलाई सदन छिर्न हतार भएको कोणबाट कतिपयले अथ्र्याएका छन् । तर, आजको पुस्ताले भने मिश्र जस्ता व्यक्ति सदनमा भए जनताका आधारभूत सवाल उठ्न सक्ने अपेक्षा पनि लिएका छन् ।

तर साझा विवेकशील पार्टीले भने उक्त विषयमा आफ्नो आधिकारीक धारण अहिले नै दिइसकेको छैन । उक्त पार्टीका एक नेता भन्छन्,‘हामी परिस्थिति र माहौललाई मुल्यांकन गरिरहेका छौं । आवश्यक परेको खण्डमा संयोजक रवीन्द्र मिश्रको उम्मेदवारी पनि हुन सक्छ ।’

पार्टीगत भोटबाहेक काठमाडौं–१ मा मिश्रले सिंहविरुद्ध राम्रो मत हासिल गरेका थिए । काठमाडौंमा त्यसबेला बनेको चुनावी ट्रयाक रेकर्डका आधारमा नै कास्कीमा मिश्रको सम्भावना रहेको कतिपयले व्याख्या गरेका छन् ।

‘राजनीतिमा त्यस्ता हुँदैन, दिवंगत नेता रवीन्द्र अधिकारीको लोकप्रियताको मत हो त्यो । नेकपाको मतसँगै अधिकारीको साधगी जीवनको मत पनि थियो । त्यसैले चुनावको मौकामा अरुले दाउ छोप्नु नयाँ कुरा भएन’, नेकपाका एक नेता भन्छन्,‘चुनावी प्रक्रियामा निर्वाचन आयोगमा दर्ता भएका सबै दलका उम्मेदवार हुन पाउँछन् । तर, व्यवाहारिकताका आधारमाचाहिँ नेकपाकै स्थान हो ।’

यता, नेकपा नेता गौतम पनि उठ्ने या नउठ्ने भन्ने विषयमा कुनै निर्णय भएको छैन । पार्टीको महत्वपूर्ण जीम्मेवारी (उपाध्यक्ष) पद दिएका कारण सो क्षेत्रमा रवीन्द्रपत्नी विद्यालाई नै उम्मेदवार बनाउन सकिने कतिपयले अड्कल काटेका छन् ।

एक नेता भन्छन्,‘यसबारे त्यसै बेला दुई अध्यक्षहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र सचिवालयको बैठकले निर्णय लिन सक्ला । अहिले नै दाबी गरेर भन्ने अवस्था छैन ।’

प्रतिक्रिया
सम्बन्धित