बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

नेकपाको युवा संगठनको केन्द्रीय समिति ३३५ सदस्यीय हुने

दैनिक नेपाल २०७६ भदौ २६ गते ११:४७

काठमाडौँ, २६ भदौ । सत्तारूढ नेकपाको युवा संगठनको केन्द्रीय समिति ३३५ सदस्यीय हुने भएको छ ।

राष्ट्रिय युवा संघ, नेपालले पार्टीसँग अनुमति लिएर ३३५ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको हो ।

तत्कालीन युवा संघ र वाईसीएलका निर्वाचित सदस्यहरुलाई समेट्न यसअघि पार्टीले दिएको २५१ को सिलिङले नपुगेकाले ३३५ सदस्यीय बनाउन  पार्टीसँग अनुमित माग्ने निर्णय भएको संघका सहसंयोजक रमेश पौडेलले जानकारी दिए ।

३३५ सदस्यीय केन्द्रीय समितिमा तत्कालीन युवा संघका १७६ र वाईसीएलका ११५ जना रहनेछन् । चार सदस्य पछि मनोनित गरिने विज्ञप्तिमा उल्लेख छ । बुधबार बसेको बैठकले यस विषयमा सहमति जुटाएको हो  ।

त्यस्तै, केन्द्रीय समितिको एक तिहाइ सचिवालयमा युवा संघबाट ५७ र वाईसीएलबाट ५२ जना रहनेछन् । ९ सदस्यीय केन्द्रीय कार्यालयमा युवा संघका ५ र वाईसीएलका ४ सदस्य रहने सहमति भएको छ ।

सात प्रदेशमध्ये तत्कालीन युवासंघले ४ र वाईसीएलले तीन जिल्लाको नेतृत्व गर्ने तथा ७७ मध्ये ४२ जिल्लाको नेतृत्व युवा संघ र ३५ जिल्लाको नेतृत्व वाईसीएलले पाउने सहमतिसमेत भएको छ ।

युवा संघको एकता प्रक्रियालाई टुंग्याउन भदौ २७ गते साबिक संगठनका पदाधिकारीहरुको संयुक्त बैठक तथा पदभार ग्रहण कार्यक्रम आयोजना गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । २७ गते नै कार्यालय उद्घाटन् समेत हुने जनाइएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया
सम्बन्धित