२९ आश्विन २०८३, बिहिबार

३२ वर्षीय व्यक्ति ८१ वर्षकाे बनेपछि…

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । ८१ वर्षीय वृद्धको भेष बनाएर अमेरिका जान लागेका एक भारतीय युवक नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

ती सन्दिग्ध व्यक्तिको नाम जयेश पटेल भएको भारतीय अधिकारीहरूले बताएका छन्। उनको वास्तविक उमेर ३२ वर्ष हो ।

उनी अमेरिकाको न्यूयोर्क जान विमान चढ्न लागेका बेला नक्कली राहदानीसहित पक्राउ परेका हुन । फुलेको दाह्री भएका र मोटो चस्मा लगाएका ती युवकले प्रारम्भिक सुरक्षाजाँच र अध्यागमन ह्वीलचेअरमा बसेर पार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सेन्ट्रल इन्डस्ट्रिअल सेक्युरिटी फोर्सका प्रवक्ताले भने, ‘उनी पक्कै पनि ८० वर्षका थिएनन्। उनको छाला युवाहरूको जस्तो थियो।’ दोस्रो सुरक्षा जाँचका बेला उमेरका कारण आफू उभिन नसक्ने बताएपछि उनीमाथि शङ्का बढेको थियो।

अधिकारीहरूले मागेपछि वाहकको नाम अम्रिक सिङ भएको राहदानी उनले दिए। राहदानीमा उनको जन्ममिति फेब्रुअरी १, १९३८ र जन्मस्तान दिल्लीमा उल्लेख थियो।

‘यात्रुको हुलिया र छाला हेर्दा राहदानीमा उल्लेख गरिएको उमेर सँग मेल खाएजस्तो देखिएन’, सेन्ट्रल इन्डस्ट्रिअल सेक्युरिटी फोर्सका प्रवक्ताले भने। सोधपुछका क्रममा पटेलले आफूले वृद्धको भेष बनाएको र उक्त राहदानी गैरकानुनी रहेको स्वीकार गरेका थिए।