शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

राप्ती यातायात पूर्ण अटोमेशनमा, कुनैपनि गन्तव्यका टिकट अनलाइनबाटै काट्न सकिने

दैनिक नेपाल २०७६ भदौ २५ गते १७:४६

काठमाडौँ, २५ भदौ । राप्ती अञ्चलको सबैभन्दा पुरानो यातायात संस्था त्रिदेश्वरी राप्ती यातायात सेवा प्रालि पूर्ण रूपमा अटोमेशनमा गएको छ ।

पछिल्लो समय नेपालका हरेक क्षेत्रमा प्रविधिको प्रयोग तीब्र रूपमा बढिरहेको बेला यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवा दिनको लागि अटोमेशनमा गएको संस्थाका अध्यक्ष सुरेश हमालले बताए ।

अटोमेशनमा गएसँगै अब राप्ती यातायातका कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यालय सञ्चालन, चलानी, अभिलेखन लगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत नियन्त्रण हुनेछन् । कम्पनीले बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगेको हो ।

अबदेखि यात्रुहरूले राप्ती यातायातका एसी, डिलक्स् तथा मिनिबसको टिकट अनलाईन मार्फत काट्न सकिनेछ । यात्रुहरूले राप्ती यातायातको राप्ती यातायात डटकम डट एनपी, बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशन तथा इसेवा डटकम डट एनपीमार्फत अनलाइन टिकट काट्न सकिनेछ । साथै नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेशन, आइएमई पे, मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङमार्फत समेत टिकट काट्न सकिनेछ ।

यात्रुहरूले आउँदै गरेको दशैैँ तिहारमा समेत आफू जाने कुनैपनि गन्तव्यमा सहजै टिकट काट्न सक्नेछन् । २०३७ सालमा अनौपचारिक रुपमा राप्ती अञ्चल बस तथा मिनीबस समिति नामबाट सुरू भएको यातायात सेवा २०४१ सालबाट राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिका रूपमा सञ्चालनमा थियो । हाल संस्था कम्पनीका रूपमा दर्ता भइ त्रिदेश्वरी राप्ती यातायात सेवा प्रालिका रूपमा सेवा गर्दै आएको छ ।

कम्पनीले लामो तथा छोटो दुरीमा राप्ती अंचल भित्र दाङ, सल्यान, प्यूठान, रुकुम, रोल्पा र राप्ती अंचल बाहिर काठमाण्डौ लगायत पोखरा, विरगंज, काँंकडभित्ता, विराटनगर, नारायणगढ, बुटवल, पाल्पा, कृष्णनगर, भैरहवा, नेपालगंज, सुर्खेत, राजापुर, धनगढी, महेन्द्रनगरका विभिन्न स्थानहरुसम्म करिब १०० वटा रुटहरुमा आफ्नो यातायात सेवा संचालन गरिरहेको छ ।

बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित