शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

भारतमा भएको आन्दोलनप्रति जनमोर्चाको ऐक्यवद्धता

दैनिक नेपाल २०७६ भदौ २५ गते १३:३६

काठमाडौँ, २५ भदौ । राष्ट्रिय जनमोर्चाले भारतमा नेपालीभाषीहरुले चलाएको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त ऐक्यवद्धता जनाएका हुन् ।

भारतमा आफ्ना नागरिक र गैर नागरिकको पहिचान गर्न राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) कार्यक्रम चलिरहेको छ । तर, भारतको आसाममा वर्षौंदेखि बस्दै आएका करिव एक लाख नेपाली भाषी भारतीयहरु राष्ट्रिय नागरिक पञ्जीकरणबाट बञ्चित हुन पुगेका छन् ।

एनआरसीको प्रावधान अनुसार सन् १९७१ देखि आसाममा बसोबास गर्नेहरुलाई मात्र नागरिक मानिन्छ । त्यसपछि बसोबास गर्नेहरु स्वतः आप्रवासी मानिन्छन् ।

‘सन् १९७१ अघिका आधिकारीक प्रमाण धेरैसँग छैन । यद्यपि, सन् १९७१ अघिदेखि बसोबास गर्नेहरु छुटेका छन् । छुट्नेमा प्रायः धेरै उमेरका र महिलाहरु बढी छन् । भारतीय जनता पार्टीको विभेदकारी नीतिका कारण पुस्तौंदेखि त्यहाँ बस्दै आएका नेपाली भाषीहरु त्यहाँको नागरिकताबाट बञ्चित हुन परेको छ । त्यसको अर्थ अब उनीहरु देशविहीन अवस्थामा पुग्दछन्’ अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राजमोका अनुसार आसाममा राष्ट्रिय नागरिक पञ्जीकरण सूचीमा नपर्नेहरुको ठूलो संख्या मुस्लिम, झारखण्ड र विहारका आदिवासी छन् । आसाममा यप्रकारको नागरिकता समस्याहरु र त्यसका विरुद्ध कैयौं पटक संघर्ष हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित