मंगलबार, २८ असोज २०७६
DainikNepal.com
मंगलबार, २८ असोज २०७६

झापा माग्नुअघि एसपी खापुङले के–के गरे ?

दैनिक नेपाल २०७६ भदौ २५ गते ११:५१

काठमाडौं, २५ भदौ । नेपाल प्रहरीको संगठनका हरेक जिम्मेवारी प्रमुखको निर्णयका आधारमा भन्दा पनि बाह्य दबाबका आधारमा गराउने चलन सकिएको छैन । यसै मध्येका एक पात्र हुन्, एसपी चन्द्रकुबेर खापुङ । सर्वेन्द्र खनाल प्रहरी महानिरिक्षक (आईजी) नियुक्त भएको केही दिनमै उनी कर्मचारी प्रशासन शाखाको प्रमुखको जिम्मेवारी पाए ।

धेरैको अनुमान थियो आईजी खनालले आफूनिकट एसपीलाई उक्त शाखाको जिम्मेवारी दिन्छन् । बर्षौदेखि चल्दै आएको चलन पनि हो, कर्मचारी प्रशासन शाखा, निवास र सचिवालयमा महानिरीक्षक निकट अधिकारी नै राखिन्छन् ।

एसपी खापुङलाई उक्त शाखामा राख्न गृहसचिव प्रेमकुमार राईले नै दवाव दिएपछि महानिरीक्षक खनालले बाध्य भएर जिम्मेवारी सुम्पिए ।

शाखा प्रमुख आफूनिकट नभए पनि खनालले त्यसबेला इन्स्पेक्टर जागेश्वर भण्डारी (हाल डिएसपी), गोविन्द पन्थी, डिएसपी जनार्दन जिसि, सुवास बोहरा, दानबहादुर थापा लगायतलाई कर्मचारी प्रशासन शाखामा राखेका थिए । उनीहरूकै मेहनतले बर्षौदेखि रोकिएको बढुवा सरुवा सम्पन्न गरे । तर त्यसको क्रेडिट लिंदै एसपी खापुङले आफूलाई पर्सा जिल्ला चाहियो भन्दै गृहसचिवमार्फत महानिरीक्षक खनाल व्यापक दिएको स्रोतको दाबी छ ।

खापुङको बिगत अत्यन्तै विवादित र हरेक ठाउँमा असफल भएको इतिहास राम्रोसँग बुझेका महानिरीक्षक खनालले पर्सा पठाउन राजी भएनन् । किनकि महानिरीक्षक खनालले पर्साको प्रहरी प्रमुखमा एसपी सोमेन्द्रसिंह राठौरलाई पठाउने सोच बनाइसकेका थिए । एसपी राठौर प्रहरीमा व्यावसायीक तथा सक्षम अधिकृतको परिचय बनाउन सफल छन् । पर्सा नपाउने भएपछि खापुङले आफूलाई मोरङ पठाउन दवाव दिन थाले । तर महानिरिक्षक खनालले त्यसबेला मोरङमा विश्व अधिकारीलाई पठाइदिए ।

पर्सा र मोरङ मिसन असफल भएपछी त्यसबेला खापुङको ध्यान रुपन्देहीतिर मोडियो । रुपन्देहीका एसपी हृदय थापाको कार्यकाल पूरा भएपछी आफू रुपन्देही जाने र थापालाई आफ्नो ठाउँ (कर्मचारी प्रशासन शाखा)मा ल्याउने भन्दै एसपी खापुङले तेस्रो मिशन शुरु गरे । तर यसैमहिना भएको एसपी सरुवामा पनि उनले रुपन्देही पाएनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लामो समय काम गरेका एसपी हेमकुमार थापालाई रुपन्देही पठाउन आयोगकै उच्च अधिकारीहरूले अडान लिए, तब खापुङको तेस्रो मिसन पनि असफल भयो ।

त्यसो त उनलाई रुपन्देही पठाउन गृहसचिव राईले पनि व्यापक प्रयास गरेकै हुन् । थापाको लागि अख्तियारले अडान लिएपछि अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेलाई कन्भिन्स गर्न गृहसचिव राई टङ्गालस्थित आयोगको कार्यालयमै पुगेको स्रोतले बतायो । एसपी थापालाई अन्यत्र पठाएर खापुङलाई रुपन्देही पठाउन राइले गरेको प्रस्ताव अख्तियारका उच्च अधिकारीहरूले इन्कार गरेपछी खापुङको तेस्रो मिसन पनि असफल भएको उच्च स्रोतले दाबी गरेको छ ।

पोस्टिङ्को लागि मरिहत्ते गर्दैगर्दा तिनवटा मिसन असफल भएपछी एसपी खापुङको ध्यान झापातिर मोडिएको उनी निकट स्रोत बताउछ । उनी अहिले झापाका एसपी दिनेशराज मैनालीलाई कुनै बनिबनाउ काण्ड लगाएर भए पनि तान्ने त त्यहाँ आफू जाने योजना बनाईरहेका छन् । एसपी मैनाली झापा गएको ६ महिना मात्र भएको छ । मैनालीले झापामा काम गर्न नसकेको भन्दै गृहसचिव राइलाई कुरा लगाएर प्रहरी मुख्यालय तान्ने खापुङको डिजाइन सफल हुन्छ हुँदैन त्यो समयले बताउला ।

दरबारमार्गको डिएसपी हुँदा कलडिटेल दुरुपयोग गरेपछी तत्कालीन महानिरिक्षक उपेन्द्रकान्त अर्यालले उनलाई कारबाहीस्वरुप त्यहाँबाट फिर्ता गरेका थिए । बाग्लुङको एसपी हुँदा शान्तिसुरक्षा कायम गर्न असफल भएपछि उनी अवधि नपुगी बीचमै फिर्ता भएका थिए । गृहसचिवसँग निकटताको आडमा कतिपय बिषयमा उनले महानिरीक्षक खनालको निर्देशनलाई पनि अटेर गर्ने गरेको आईजी सचिवालयका एक अधिकारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित