बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

बिचौलीयालाई तीनै तहका सरकारमा प्रवेश निषेध गर्नुपर्छ : चौधरी

दैनिक नेपाल २०७६ भदौ २४ गते २०:३१

काठमाडौैं, २४ भदौ । कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले तीनै तहका सरकारमा बिचौलीयाहरूको प्रवेशमा निषेध गर्नुपर्ने बताएकी छन् ।

कृषि तथा पशुपक्षी बिकास मन्त्रालय र कोरीयन ईन्टरनेशनल कोअपरेशन एजेन्सी (कोइका)ले मंगलबार गरेको अन्तक्र्रियाका क्रममा चौधरीले यसो भनेकी हुन् ।

अहिले सरकारले सीमापारीबाट मासुजन्य खसी, बोका, राङ्गा, भैंसी र कुखुरा आयातमा रोक लागाएको कारणले नै आफ्नै देशमा उत्पादन गर्ने कृषकहरू उत्साहित भएको चौधरीले बताइन् ।

आयात गरेर देश कहील्यै आत्मनिर्भर हुन नसक्ने बताएकी उनले दशै तिहारमा बाहिरबाट खसी बोका नल्याए नपुग्ने कुरा निराधार भएको दाबी गरिन् ।

यो आर्थिक बर्षमा मासुजन्य बस्तुमा सापेक्षी वृद्धि भएको जानकारी दिएकी उनले फलफुल र सागसब्जीमा पनि उत्पादन बढाउन  आयात घटाउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘नेपालकै जुम्ला, हुम्ला, मुस्ताङ र मनाङ्गको स्याउ नेपाली बजारमा १०० रुपैंयामा बिक्दैन,  कृषकले गाईबस्तुलाई खोले बनाएर खुवाएको समाचार आउछन् तर चीन, पाकिस्तान र कश्मिरको स्याउ ३०० देखि ४५० रुपैंया प्रति किलो किनेर नेपाली जनताले खाइरहेको तथ्यांक छ ।’

बाहिरका स्याउ आउने तर नेपालका नबिक्ने जस्तो परिबन्धका कारण विचौलियाको विगविगी हुनु रहेको चौधरीको ठहर थियो ।

उनले भनिन्,‘नेपाली किसान कुपोषित भैइरहेको अवस्था छ । यस्तो अवस्था लामो समयसम्म जान दिनुहुँदैन ।’

पाउडर दुध आयातमा रोक लगाएपछि बिचौलीयाहरूले कृषि मन्त्रालयको नकारात्मक प्रचारबाजी गरेको तर आफूहरू पछि नहटेकै कारणले दुधमा आत्मनिर्भर बन्दै गएको मन्त्री चौधरीको दाबी थियो ।

‘अब किसानले उत्पादन गरेको नेपाली दूध सडकमा पोखिने दिन गएको छ’, उनले भनिन् ।

कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, गाउँपालीका अध्यक्ष, उपाध्यक्ष र कार्यकारी अधिकृतहरूको प्रश्नको जवाफ दिँदै राज्य मन्त्री चौधरीले भनिन्,‘सुरुमा सबै नगर र गाउपालीकाहरूमा बिचौलीयालाई प्रवेश निषेध गर्नुस् । त्यसपछि प्रदेश र संघबाट गएका योजना कार्यक्रमहरूको निगरानी र अनुगमन गर्नुहोस् बिकास हुनबाट कसैले रोक्न सक्दैन ।’

आफू भलो त जगत् भलो भन्ने उक्ति जोड्दै मन्त्री चौधरीले बिचौलियालाई निमिट्यान्न पार्न सरकारलाई सघाउनुपर्ने बताइन् ।

प्रदेश नं.३ र गण्डकी प्रदेशका ९ जना नगर प्रमुखहरू र ५ जना नगर उपप्रमुखहरू, १० जना गाउँपालीका अध्यक्षहरू र ४ जना उपाध्यक्षहरू, २४ जना प्रमुख प्रशासकीय अधिकृतहरू, ४ जना कृषि अधिकृतहरू र मन्त्रालयबाट सहभागीता रहेको कार्यशाला मंगलबार समापन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित