शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

मन्त्री थापा भन्छिन् : मृत्युदण्डको सजाय दिनेबारे छलफल गर्न सकिन्छ

दैनिक नेपाल २०७६ भदौ २४ गते १८:१२

काठमाडौं, २४ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले महिला हिंसा रोक्नको लागि दोषीलाई मृत्युदण्डसम्मको सजाय दिन सकिनेबारे छलफल सुरु गर्न सकिने बताएकी छिन् । यद्यपी, उनले अहिले भएका कानुनलाई नै प्रभावकारी कार्यान्वयनतर्फ जोड दिनुपर्ने बताइन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले तत्काल मृत्युदण्ड नै दिनुपर्छ भन्ने स्थिति नभएको सुनाउदै भएकै संविधान, कानुन र ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने स्पष्ट पारेकी हुन् ।

उनले भनिन्, ‘बलात्कार, हत्या, एसिड आक्रमणलगायतका हिंसाका घटनामा संलग्न दोषीलाई हदैसम्मको कडा कारबाही गर्नुपर्छ । तर, दोषीलाई मृत्युदण्डको सजाय दिनेबारे कानुन बनाउनुपर्छ भन्नेबारे छलफल त गर्न सकिन्छ ।’

उनले संविधान, कानुन, ऐनको मर्म र भावनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिइन् । उनले महिला हिंसाका घटना न्यूनीकरणको लागि सबै तह र तप्काबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्ने पनि धारणा राखिन् । अहिलेपनि महिला हिंसामा संलग्न दोषीलाई प्रचलित कानुनअनुसार कारबाही भैरहेको उनले स्पष्ट पारिन् ।

वर्तमान सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हितमा कार्यक्रम सञ्चालन गरिरहेको उनको विश्वास थियो । उनले भनिन्, ‘हामीले त्यहीअनुसारको महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री कानून तथा ऐनहरु बनाएका छौं । संविधानको मर्म र भावनाअनुसार कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छौं ।’

प्रतिक्रिया
सम्बन्धित