मंगलबार, २८ असोज २०७६
DainikNepal.com
मंगलबार, २८ असोज २०७६

जनप्रतिनिधिको यौन कुन्ठा : सामाजिक विचलनको कठोर बिम्ब 

दैनिक नेपाल २०७६ भदौ २४ गते १५:२५

काठमाडौं, २४ भदौ । स्थानीय चुनाव भएपछि ७५३ ठाउँले जनताका प्रतिनिधि पाएका छन् । तर, धेरै भन्दा धेरै जनप्रतिनिधिका यौन कुन्ठा र सामाजिक विचलनका घटना सतहमा आएपछि समाजको नयाँ चित्र देखा पर्न थालेको छ ।

वडाध्यक्षहरूदेखि गाउँपालिका अध्यक्षसम्मका यस्ता हर्कत सतहमा आउन थालेपछि सामाजिक विचलनका घटनामा जनताले चुनेका मानिसकै संलग्नता, सहभागीता हुनु नेपाली समाजका दुखदायीपूर्ण रहेको देखिन्छ ।

कतिपय वडाध्यक्ष त यौन कुन्ठा विसाउँदै गर्दा रंगेहात पक्राउ गरिएका छन् भने कतिपय बहुविवाहदेखि कान्छी राख्नेसम्मका काण्डमा सतहमा देखा परेका छन् । कतिपयका विवाद सतहमा नआए पनि गुपचुप राखिएको बताइन्छ ।

केही उदाहरण यस्ता छन् ।

एक जना महिलाका पतिको उजुरीका आधारमा बागलुङको बुर्तिवाङबाट वडाध्यक्ष कृष्ण केसी आपत्तिजनक अवस्थामा फेला परे । उनीहरूबीच अनैतिक सम्बन्ध कायम रहेको महिलाका पति र गाउँलेको दाबी थियो । प्रहरीले अनुसन्धान गरेर छाडिदियो । त्यसमा पारिवारिक मिलापत्र भएको दाबी गरियो ।

अन्तर्राष्ट्रिय स्रोतबाट लिइएको सांकेतिक तस्बिर

जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह वडा सदस्य दलित महिलासँग आपत्तिजनक अवस्थामा फेला परे । जलेश्वर–८ स्थित दलित महिला वडा सदस्यको घरमा वडाध्यक्ष सिंह र दलित महिला वडा सदस्य दुवैलाई आपत्तिजनक अवस्थामा महिलाका देवर, ससुरा र जेठाजुले देखेपछि बाहिरबाटै दुवै जनालाई घरमा थुनेर गाउँलेलाई बोलाएर दुवैलाई रंगेहात पक्राउ गरिएको आरोप रहेको प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

सिंह तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट वडाध्यक्षमा विजयी भएका थिए ।

प्युठान जिल्लाको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीलाई आइतबार प्रहरीले हिरासतमा लियो । श्रीमतिले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरियो ।

बहुविवाह गरेको भन्दै परस्त्रीसँग खिचिएका अर्धनग्न तस्वीरसहित उजुरी परेपछि प्रहरीले अध्यक्ष गिरी र उनकी प्रेमिका दुबैलाई हिरासतमा लिएको हो ।

परस्त्रीसँग विष्णुको सम्पर्क बढेको प्रमाण फेला पारेको भन्दै पत्नी सीताले भदौ १० गते हुलाकमार्फत् बहुविवाहको उजुरी प्रहरीमा दायर गरिन् । उनले विष्णु र ती युवतीका केही तस्वीरहरु र च्याटमा भएका कुराकानीलाई प्रमाणका रुपमा प्रहरीसमक्ष पेस गरेकी थिइन् ।

विष्णुले बहुविवाह नगरेको दाबी गरिरहे पनि प्रमाणले उनको अनैतिक सम्बन्ध रहेको भन्नेचाहिँ बल पुग्छ ।

यी केही प्रतिनिधि घटना हुन् । भक्तपुरलगायतका जिल्लामा पनि यस्ता घटनाका विवरण सतहमा आएका थिए । सूचना प्रविधिको सहज पहुँच मात्र नभएर खण्डित तथा उत्तरआधुनिक समाजको प्रभावका आधारमा सामाजिक विचलन बढेको बताइन्छ । त्यसमाथि जनप्रतिनिधि नै यस्ता काममा पक्राउ पर्न थालेपछि समाज कतातिर जाँदैछ भन्ने प्रश्न एकथरी अधिकारकर्मीले उठाउने गरेका छन् ।

‘जनताले विश्वासका आधारमा निर्वाचित गराएको व्यक्ति कसैको घर विगार्न, कसैको भविष्य नै सक्नेगरी कुन्ठा र सम्बन्धमा बस्छ भने समाज कतातिर जाँदैछ ?’, एक अधिकारकर्मी महिला भन्छिन्,‘एउटा सम्बन्धले दुई तीन घर र दर्जन बढी परिवारका सदस्यको भविष्य डामाडोल हुँदैन ?’

वैदेशिक रोजागरीमा गएका कतिपयको घर बिग्रिएका समाचार सतहमा आइरहेका बेला जनप्रतिनिधिकै यौन कुन्ठाको प्रभावमा उनीहरू समातिन थालेको बताइन्छ ।

मुलुकी अपराध संहिता दफा १७५ को उपदफा ४ अनुसार बहुविवाहको कसुर गर्नेलाई एक वर्षदेखि ५ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित