६ कार्तिक २०८३, शुक्रबार

डेंगु संक्रमण बढ्दै : नआत्तिन चिकित्सकको आग्रह

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदाै । डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् । राजधानी दैनिकले खबर छापेकाे छ ।

डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नमान्न र डेंगुको लक्षण देखिना साथ समयमा नै अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगु हुँदैमा आत्तिन नपर्ने बताए । डा. पुनले लक्षण देख्नासाथ अस्पताल पुगेर परिक्षण गरी औषधि सेवन गरे यो रोग सहज रूपमा निको हुने बताए ।

उनले भने, ‘शरीरका जोर्नीहरूको दुखाइ अत्यधिक हुन्छ । ८/१० दिनसम्म पीडा हुन्छ, धेरैजसो संक्रमित हुने मात्रै हो । तर, आत्तिनुपर्दैन ।’ डा. पुनका अनुसार डेंगु संक्रमण गराउने लामखुट्टे बिहान ९ देखि १२ र दिउँसो ३ देखि ७ को बीचमा मात्रै बढी सक्रिय हुने बताए ।

डेंगुको प्रकोप फैलिँदै गए पनि सरकारले भने रोकथामको लागि प्रभावकारी उपाय अवलम्बन गर्न सकेको छैन । सरकारले नियन्त्रणका लागि बजेट छुट्याए पनि सो रकम प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।

रोकथामका लागि सरकारले १० करोड मात्रै विनियोजन गरेको छ जुन निकै न्यून हो । स्थानीय तहका लागि १ करोड ६७ लाख, प्रदेशका लागि ६ करोड १७ लाख र केन्द्रका लागि १ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ । सो रकम ‘खोज र नष्ट गर’, जनचेतना अभियानका लागि खर्च भइरहेको महाशाखाले जनाएको छ ।

यस्ता लक्षण देखिए तुरुन्त अस्पताल जाऔं

–ज्वरो आउने

–आँखाको गेडी दुख्ने

–शरीरमा डाबर आउने

–बेस्सरी टाउको दुख्ने

–अरुचि हुने

–पेट तथा आन्द्रामा गडबडी हुने

–जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने

बच्ने उपाय

–लामखुट्टेको टोकाइबाट जोगिनु

–झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने

– पूरा शरीर ढाकिने गरी कपडा लगाउने

–राति र दिउँसो पनि झुलभित्र सुत्ने

स्वास्थ्य सेवा विभागका अनुसार पछिल्लो दुई महिनाको अवधिमा ५६ जिल्लाका ३ हजार ८९९ जनालाई डेंगु संक्रमण भएको छ । अहिलेसम्म ६ जनाको ज्यान गइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार यो संख्या अझै बढ्ने देखिन्छ ।

अहिलेसम्म प्रदेश नम्बर १ मा ८३१, प्रदेश २ मा ३९, प्रदेश ३ मा २०१०, गण्डकी प्रदेशमा ८९६, प्रदेश ५ मा ९७, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २३ जना डेंगुबाट संक्रमित भएका छन् ।

अहिलेसम्म सुनसरी, सिन्धुपाल्चोक र चितवनमा डेंगुको संक्रमणबाट एक÷एक जना र काठमाडौंमा दुई जनाको ज्यान गएको महाशाखाले जनाएको छ ।

कसरी सर्छ ?

डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । बर्सातको समयमा सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ ।