बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

५६ जिल्लामा डेंगुको संक्रमण फैलियो, ६ जनाको मृत्यु (प्रभावित जिल्लाको सूचीसहित)

दैनिक नेपाल २०७६ भदौ २३ गते १७:१३

काठमाडौँ, २३ भदौ । देशका ५६ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार  डेंगुका कारण साउनयता ६ जनाको मृत्यु भइसकेको छ भने ३ हजार ८ सय ९९ जना संक्रमित भएका छन् ।

मृत्यु हुने मध्ये काठमाडौँमा २ र सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक-एक जना रहेका छन् । वैशाख महिनादेखि अहिलेसम्मको तथ्यांक हेर्ने हो भने डेंगुबाट ७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

महाशाखाका अनुसार अहिलेसम्म प्रदेश नं. १ को ९ , प्रदेश नं. २ को ७, प्रदेश नं. ३ को १२, गण्डकी प्रदेशको १०, प्रदेश नं. ५ को ११, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशको ५ जिल्ला गरी देशभर ५६ जिल्लामा डेंङ्गुको संक्रमण फैलिएको छ ।

साउन १ गते देखि भदौ २२ गते सम्म ३ हजार ८ सय ९९ जना डेंगुको नयाँ बिरामी थपिएको महाशाखाले जनाएको छ ।

थपिएको यो संख्या सँगै वैशाखदेखि यता बिरामीको संख्या ७ हजार नाघेको जनाइएको छ । साउन १ देखि २२ सम्म प्रदेशगत रुपमा हेर्ने नै भने सबै भन्दा धेरै संक्रमित र मृत्यु हुनेको संख्या प्रदेश नं.३ मा देखिएको छ ।

प्रदेश नं. ३ मा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने साउनदेखि यता २ हजार १० जना नयाँ बिरामी थपिएका छन् । यस्तै साउनदेखि यता प्रदेश नं. १ मा ८३१, प्रदेश नं.२ मा ३९, गण्डकी प्रदेशमा ८९६, प्रदेश नं. ५ मा ९७, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २३ मा डेंगुको संक्रमण देखिएको छ ।

चिकित्सकका अनुसार डेंगुको संक्रमण फैलिएपछि अहिले शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वास्थ्य परीक्षण गर्ने नागरिकको चाप बढ्दै गएको छ ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ । वर्षाको समय सुरुभएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्दछ ।

ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबरहरु आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने, रातो बिबिरा देखिनु डेंगुका लक्षणहरु हुन् ।

यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन्।

डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो। यो आफै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ। तर, यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्नेन चिकित्सकहरुले बताएका छन् ।

देशका ५६ जिल्लामा डेंगुको संक्रमण फैलिएको समयमा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण जिम्मेवारी बोकेको निकाय स्वास्थ्य सेवा विभाग भने नेतृत्वबिहीन बनेको छ । विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेल कार्यकाल सकिएसँगै विभाग नेतृत्वबिहीन बनेको हो ।

असार अन्तिममा महानिर्देशकको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्याकुरेललाई महानिर्देशकको जिम्मेवारी प्रदान गरेको थियो । तर, कार्यकाल सकिएसँगै भदौ २१ देखि प्याकुरेल बिदा भएका छन् ।

दुई साताअघि मन्त्रालयले डा. प्याकुरेलको एक वर्ष म्याद थप गर्न मन्त्रिपरिषदमा प्रस्ताव दर्ता गराएपनि स्वीकृत नभएपछि उनले अनिवार्य अवकास पाएका हुन् ।

अहिले विभाग निमित्तको भरमा चलिरहेको छ । विभागमा निमित्त निर्देशकको जिम्मेवारीमा परिवार योजना महाशाखाका प्रमुख डा. भिम सिंह टिङकरी रहेका छन् ।

यी हुन् डेंगु प्रभावित जिल्लाहरु :

यो पनि पढ्नुहाेस् :

डेंगुको संक्रमणपछि अस्पताल भर्ना भएका कृषिमन्त्री खनाल डिस्चार्ज

आँखाका वरिष्ठ चिकित्सक सन्दुक रुइतलाई डेंगीको संक्रमण, अस्पताल भर्ना

 

प्रतिक्रिया
सम्बन्धित