
काठमाडौँ, २३ भदौ । प्यूठानको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरी बहुविवाहको आरोपमा पक्राउ परेका छन् ।
श्रीमती सीता केसीले दिएको उजुरीका आधारमा गिरीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
श्रीमतीले साउन १० गते उजुरी गरे पनि गिरीलाई आइतबार पक्राउ गरिएको डिएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । ०५७ सालमा प्रेम विवाह गरेका गिरीले दोस्रो विवाह गरेको श्रीमतीको आरोप छ । गिरी नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष बनेका हुन् ।
सीताकै उजुरीका आधारमा गिरीकी कान्छी श्रीमती अस्मिता बुढाथोकी पनि हिरासतमा छिन्। उनी भदौ २० गतेदेखि नै हिरासतमा रहेको प्रहरीले जनाएको छ ।
गिरीले बहुविवाह गरेको प्रमाणित भएमा मुलुकी अपराध संहिता दफा १७५ उपदफा ४ बमोजिम एक वर्षदेखि पाँच वर्षसम्म कैद र दस हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुन छ।











प्रतिक्रिया