
काठमाडौँ, २३ भदौ । ओखलढुंगा काँग्रेसबाट निर्वाचित वडाध्यक्षले नेकपाबाट निर्वाचित वडाध्यक्षलाई कुटेका छन् ।
ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर -८ का अध्यक्ष अजय लुइँटेलले वडा नम्बर ७ का अध्यक्ष सुरेश थापामाथि कुटपिट गरेका हुन् । लुइँटेल नेपाली काँग्रेस र थापा नेकपाबाट निर्वाचित वडाध्यक्ष हुन् ।
थापाले आफूमाथि वडाध्यक्ष लुइँटेलले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि आइतबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लुइँटेलले मादक पदार्थ सेवन गरी असार ३० गते गाउँपालिका कार्यालय ताप्केडाँडामा आफूमाथि कुटपिट गरेको थापाले उजुरीमा उल्लेख गरेका छन् । गाउँपालिकामा काम गरिराखेका बेला दिउँसो ३ बजे आफूमाथि कुटपिट भएको थापाको भनाइ छ।
थापाले उजुरी दिएपछि लुइँटेल सम्पर्कविहीन थिए । उनलाई आइतबार साँझ सदरमुकामबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जिप्रका ओखलढुंगाका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले वडाध्यक्ष लुइँटेललाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
आफूलाई पटक–पटक धम्की आएको र पछिल्लो पटक ०७६ असार ३० गते आफूमाथि कार्यालयमै आक्रमण भएपछि बाध्य भएर सहकर्मीविरुद्ध उजुरी गरेको पीडित थापाले बताएका छन् ।











प्रतिक्रिया