
काठमाडौँ, २२ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र संयुक्त अरब इमिरेटस् (यूएई)का राजदूत सहिद हम्दान अई नक्कीबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा द्विपक्षीय र आपसी सम्बन्धका विषयमा छलफल भएको थियो । छलफलमा मन्त्री पुनले नेपालको उर्जा क्षेत्रमा लगानीको लागि वातावरण बनेको भन्दै युएईका लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रेरित गरिदिन आग्रह गरे ।
उनले दुई देशबीचको सम्बन्ध परापूर्व कालदेखि नै घनिष्ट रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझै सुमधुर भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।
भेटमा राजदूत सहिदले उर्जा क्षेत्रमा सरकारसँग काम गर्न युएई इच्छुक रहेको धारणा व्यक्त गरे । उनले युएईले पनि तेल र ग्याँसको सट्टा उर्जामा ध्यान केन्द्रित गर्न लागेको जानकारी दिँदै नेपालमा पनि लगानीको लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
२४ औँ विश्व उर्जा सम्मेलनमा भाग लिन युएई भ्रमणमा जान लागेका मन्त्री पुनलाई राजदूत सहिदले आईतबार सिंहदरवारस्थित उर्जामन्त्रालयमै पुगेर कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

उर्जामन्त्री युएई भ्रमणमा जाने
उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ युएईको तीन दिने भ्रमणमा जाँदै छन् । युएईमा आयोजना हुन लागेको २४ औँ विश्व उर्जा सम्मेलनमा भाग लिन मन्त्री पुन आईतबार साँझ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
सम्मेलनमा ७० मुलुकका उर्जामन्त्रीहरुको सहभागिता हुनुको साथै विश्भरबाट ५ सयभन्दा बढी कम्पनीका कार्यकारी अधिकृत र २५० जना वक्ताहरुको सहभागी समेत रहनेछ । १ सय ५० देशको सहभागिता रहने सम्मेलनमा तेल, ग्याँस, जलविद्युत, पूर्वाधार, उर्जा उत्पादन, वैकल्पिक उर्जा, नविकरणिय उर्जा र ग्रिड प्रविधिको बिषयमा छलफल हुनेछ ।
मन्त्री पुनले सम्मेलनमा ‘Energy, water, food, an eco system on the lusp’ बिषयमा आफ्नो धारणा राख्ने कार्यक्रम छ । उनी भदौ २६ मा स्वदेश फर्कने कार्यक्रम रहेको प्रमुख स्वकिय सचिव दूर्गा चापागाँईले बताए ।











प्रतिक्रिया