
जाजरकोट, १९ भदौ । जाजरकोटकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
कुशे गाउँपालिका–१, धाउनीकी २५ वर्षीया संगीताकुमारी शाही सिंहको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
स्वास्थ्यकर्मीका अनुसार भदौ १२ गते नै बच्चा जन्मिनुपर्नेमा आज बिहानसम्म नजन्मेको र विगत ३ दिनदेखि व्यथा लागेर अवस्था खतराउन्मुख भएपछि उनको गुर्नपरेको हो ।
कुशे–१ का वडाअध्यक्ष गोपाल नेपाली र नेकपा नेताहरुको पहलमा शाहीको उद्धार भएको हो ।
वडाध्यक्ष नेपालीले जिल्लामा आवश्यक पर्ने प्रक्रिया पुरा गरेका थिए भने नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मा पारसमणी, नेकपा जाजरकोटका नेता कृष्ण बिसी र नरबहादुर गिरी लगायतले काठमाडाैँमा पहल गरेका थिए ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा मगरसँग भेटी मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईमार्फत शाहीको उद्धार गर्न सफल भएको नेता बिसीले बताए । हेलिकप्टरको खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइले व्यहोरेको छ ।
आवश्यक प्रक्रिया पुरा भएपछि नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट कुशे पुगेर शाहीलाई उद्धार गरि सुर्खेत ल्याएको थियो । सेनाले सुर्खेत ल्याएपछि उनको बच्चा जन्मिएको थियो । तर, छोराको मृत्यु भईसकेको छ ।
आमाको अवस्था भने सामान्य रहेको आफन्तले जानकारी दिएका छन् ।











प्रतिक्रिया