१२ मंसिर २०८३, शनिबार

सहकारीको रकम उत्पादनमा लगाउनुस : मन्त्री अर्याल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदाै । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रमा रहेको रकम उत्पादनमा लगाउन आग्रह गरेकी छन् । नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका सन्दर्भमा बिहिवार आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी छन् ।

सहकारीले अब उत्पादनमा लगानी गर्नुस् भन्दा सहकारी अभियन्ताले सहकारी क्षेत्रलाई बुझ्नुभएन की भन्ने प्रश्न गरेको भन्दै मन्त्री अर्यालले आफूले सहकारी क्षेत्रलाई राम्ररी बुझेकै कारण उत्पादनमा लाग्न आग्रह गरेको समेत बताइन् ।

‘सहकारी क्षेत्रलाई मन्त्रीले सहकारी बुझ्नुभएन कि भनेर अभियन्ताले भन्नुहुन्छ । तर, मैले मज्जाले बुझेको छु’, मन्त्री अर्यालले भनिन्, ‘अबको दिशा समृद्धि, विकासकै दिशा हो । सहकारीको स्रोत उत्पादनमा लगाउनुस् । उत्पादनमा लाग्नुस् भन्दा मन्त्रीले सहकारी बुझेन क्या हो भन्ने होइन । उत्पादनका क्षेत्रमा लगानी गरिदिनुस् भनेको सहकारीले सहकारीमै लगानी गर्नुस् भनेको हो ।’

लगानीको कुरा गरिरहँदा मन्त्री आफैले किन गरेन भन्ने प्रश्न पनि स्वभाविक रूपमा उठ्ने भएकाले आफूले ३ गाउँको जमिन एकीकृत गरेर कागती खेती शुरू गरिसकेको मन्त्री अर्यालले जानकारी दिइन् । ‘मन्त्री आफैंले गरेन भन्ने प्रश्न उठ्ला भनेर मैले त शुरु गरिसके । तीन गाउँका जमिन एकीकरण गरेर कागती लगाउन शुरु गरेका छौ । यस वर्ष ३० हजार कागती लगाउने योजना रहेको छ’, उनले भनिन् । अब हरेकले एउटा उद्यममा लगानी गर्नुपर्ने उनको जोड थियो ।

सहकारीले भाषण मात्रै गर्छन् काम गर्दैनन् भन्ने प्रश्न पनि उठिरहेको सन्दर्भमा अब भाषण मात्र नभएर काम गर्नुपर्ने उनको भनाइ थियो । त्यसैका निम्ती सहकारी संस्थाहरू एकीकृत उत्पादनमा लाग्नुपर्ने मन्त्री अर्यालले बताइन्  । उनले भनिन्, ‘तपाइहरू सबै उत्पादनमा लाग्नुस् । सबै अभियन्तालाई बोलाएर एक/एक वटा होमवर्क दिएर पठाउने हो । हाम्रो भूमि खाली भयो । अब भूमिको अधिकतम् प्रयोग गरेर जाने हो ।’

पाठ्यक्रममा सहकारीको विषय उल्लेख हुनुपर्यो भनेर त्रिभुवन विश्वविद्यालयलाई अनुरोध गरिसकेको भन्दै मन्त्री अर्यालले सहकारी क्षेत्रमा केही नयाँ गर्नेगरी सरकार अगाडि बढेको बताइन् ।

सबै सहकारीमा एकै किसिमको ब्याजदर निर्धारण गर्न सरकारले सन्दर्भ ब्याजदर तोकेको भन्दै उनले यसमा अभियन्ताहरूको पनि साथ रहेको बताइन् । केही प्राविधिक कुरा मिलाउनुपर्‍यो भन्ने सुझाव आएको भन्दै उनले यसलाई कार्यान्वयन गर्नेगरी जाउ भनेर अभियन्ताहरूले भनेको बताइन् ।

राज्यको ध्यान सहकारी क्षेत्रमा रहेको भन्दै उनले यसलाई व्यवस्थित गर्न कोकोमिस प्रणाली बनाएर गएको बताइन् ।

भूमिलाई निजी सम्पत्तिको रुपमा स्विकार गरिसकेपछि अहिलेको अवस्थामा भूमिलाई राष्ट्रियकरण गर्न सम्भव नभएको भन्दै मन्त्री अर्यालले त्यही भूमिको अधिकतम प्रयोग गर्दै जानुपर्ने बताइन् ।

मन्त्री अर्यालले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नेगरी जान पत्रकारहरूलाई आग्रह गरिन् । समाजलाई सकारात्मक दिशातर्फ अगाडि बढाउनेगरी कलम चल्नुपर्ने उनको भनाइ थियो ।

यसैबीच, त्यस अवसरमा दुई पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।

नेपाल सहकारी पत्रकार समाजले स्थापना गरेको ‘सिजेएन राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार’ क्लिकमाण्डु डटकमकममा कार्यरत शोभित थपलियालाई प्रदान गरिएको थियो ।

त्यस्तैगरी, संस्थाका संस्थापक उपाध्यक्ष डिल्ली सापकोटालाई सम्मान गरिएको थियो । प्रमुख अतिथि मन्त्री अर्यालले दुवै पत्रकारलाई पुरस्कृत तथा सम्मानित गरिन् ।